PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सरकार गठनको 'डेडलाइन' सकिनै लाग्दा दौडधुपमा नेता, तारन्तार छलफलपछि फेरि बोलाइयो गठबन्धनको बैठक



पहिलोपोस्ट

सरकार गठनको 'डेडलाइन' सकिनै लाग्दा दौडधुपमा नेता, तारन्तार छलफलपछि फेरि बोलाइयो गठबन्धनको बैठक
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री को बन्ने भन्नेबारेको विवाद टुङ्ग्याउन सत्ता गठबन्धनको फेरि बैठक बस्ने भएको छ। शनिवार दिउँसो ४ बजेका लागि बैठक डाकिएको हो। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेपछि प्रधानमन्त्री चयनको विषय पेचिलो बनेको छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रधानमन्त्रीमा देउवा-प्रचण्डले नै दाबी गरेपछि सहमति हुन नसकेको बताए।

'बैठक बसेर छलफल हुन्छ। अहिलेसम्म कुनै छलफल भएको छैन,' गुरुङले भने। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि मंसिर ४ गते आह्वान गरेकी थिइन्। एक साताको समय दिएर प्रधानमन्त्रीमा राष्ट्रपतिले गरेको आह्वान आइतवार सकिँदैछ। सरकार गठनको 'डेडलाइन' नजिकिँदै गर्दा प्रचण्ड र देउवा दुवैको दौडधुप बढेको छ।

शनिवार प्रचण्डलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेर देउवालाई प्रधानमन्त्रीमा सघाउन आग्रह गरेका थिए। शुक्रवार पनि पौडेलले प्रचण्डलाई भेटेका थिए। शुक्रवार र बिहीवार पनि गठबन्धन बैठकका नेताहरु बिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलमा प्रचण्ड र देउवा दुवैले प्रधानमन्त्रीमा दाबी गरेका थिए।

मंसिर २९ गते निर्वाचन आयोगले राष्ट्रपति भण्डारीलाई चुनावको रिपोर्ट बुझाएपछि सरकार गठनका लागि भण्डारीले आह्वान गरेकी थिइन्। राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गरेकी छैनन्। संविधानमा राष्ट्रपतिले चुनावको रिपोर्ट बुझाएको ३० दिनमा संसद आह्वान गर्नुपर्ने व्यवस्था छ। सांसदहरुले बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ लिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell