PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

'कर्णालीकी मिस' को परिचय बनाएकी गुञ्जनको अनुभव, 'दुर्गममा टिचर भेट्न पाइन्न'



पहिलोपोस्ट

'कर्णालीकी मिस' को परिचय बनाएकी गुञ्जनको अनुभव, 'दुर्गममा टिचर भेट्न पाइन्न'

पोखरा : स्वयंसेवी शिक्षिकाका रुपमा झापाकी गुञ्जन लुइँटेल नेपालका दुर्गम विद्यालयमा पढाउन पुग्छिन। दुर्गमका कुनाकन्दरामा पुगेर शिक्षा दिएकी उनले 'कर्णालीकी गुञ्जन मिस' का रुपमा आफ्नो परिचय बनाएकी छिन्। पहिलोपटक २०१८ सालमा नेपालको दुर्गम विद्यालयमा पढाउन पुगेकी हुन् उनी। दुर्गम भेगमा उनको पहिलोपटक शिक्षीका भएर डोल्पा पुगिन्, तर त्यहाँ उनले शिक्षक नै भेट्न पाइन्न।

‘डोल्पामा म गएको सरकारी स्कुलमा टिचर भेट्नै पाइनँ। हुनुहुन्छ भन्ने सुनेंमात्रै एकजना शिक्षक आउनु भयो केही समय बसेर फर्किहाल्नुभयो। भेट्नै पाइनँ। उहाँहरु पढाउन इच्छुक हुनुहुन्थेनजस्तो लाग्यो,' उनले भनिन्।

'टिच फर नेपाल’ नामक संस्थाबाट डोल्पामै पढाउन पुगेका मोइन उद्दिनले पनि गुञ्जनको जस्तै परिस्थिति भोगेका छन्। ‘एउटा शैक्षिक वर्षमा त्यहाँ पढाइ हुने भनेको ७ महिना नै हो। तर, उहाँहरु सदरमुकाममै बसेर हाजिर गरेर तलब लिएर जाने धेरै देखें। विद्यार्थीसम्म पुगेको भेटिनँ,' मोइनले भने।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करणमा भएको ‘दुर्गमका सर–मिस’ विषयक सत्रमा नेपालको दुर्गम क्षेत्रको शैक्षिक अवस्थाबारे कुराकानीका क्रममा आफ्ना कुरा राखेका हुन् गुञ्जन र मोइनले।

राजेन्द्र दाहालले सहजीकरण गरेको सो सत्रमा वक्ताका रुपमा गुञ्जनसँगै मोइन उद्दिन र मिङ्मा तेञ्जिङ केसी सहभागी थिए।

आफ्नो कुरा राख्दै गुञ्जनले दरबन्दीमा पुगेका शिक्षक किन पढाउन अनिच्छुक भए भन्नबारे आफूले भेउ नै पाउन नसकेको कुरा राखिन्।

गुञ्जनले नजिकैबाट नियालेको समस्यालाई शिक्षक सेवा आयोगले गएको भदौमा निकालेको दरबन्दीले थप प्रष्टाउँछ। गएको भदौमा १५ सय जनाको दरबन्दीमा जम्मा ११ सय जना उत्तीर्ण भएका थिए। उत्तीर्ण भएका केही नियुक्ति पत्र लिनै आएनन्। यसैमा टेकेर सहजकर्ता दाहालले प्रश्न गरे - शिक्षक सेवा आयोगमा नाम निकालेकाहरु पनि लोकसेवामा खरदार नासुमा गइरहेको भेटिएका छन्। टिचिङ धेरैको सोचाइमा छैन। नयाँ पुस्तालाई शिक्षणमा कसरी आकर्षित गर्ने?

जसमा तीन वटै वक्ताको एकै उत्तर थियो, ‘शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन सरकारी नीतिगत तहबाटै सुधार हुनुपर्छ। प्रधानाध्यापक, स्थानीय तह र अभिभावक पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ।’

सन् २०१८ मा पहिलोपल्ट टिच फर नेपालबाटै सिन्धुपाल्चोक भोटेनाम्लाङ पढाउन गएका थिए मिङ्मा तेञ्जिङ केसी पनि। कतिपय अवस्थामा गाउँमा शिक्षक भए पनि बाध्यताकै भूमरी फसेको तेञ्जिङको अनुभव छ।

 ‘केही टिचरहरु प्रयास त गर्नुहुन्थ्यो। तर, आफ्नै गाउँठाउँ र समाज भएकाले उहाँहरुको आफ्नै बाध्यता पनि थियो। त्यो अनुभव त्यो सिटीमा हुन्थेन,' उनले भने।

विद्यार्थीको मनोविज्ञान बुझेर पढाउन सके सिकाइ सफल हुने तेञ्जिङको भनाइ छ।

‘शिक्षक समाज बुझेको हुनुपर्छ र आफूले भागेका अनुभवलाई बाँड्न सक्ने हुनुपर्छ। ५ वटा औंला त समान छैनन्, विद्यार्थीको रुचि पनि एउटै छैन भन्ने बुझ्नुपर्छ। एउटा टिचरले विद्यार्थीको इन्ट्रेस्ट थाहा हुनुपर्छ,' उनले भने।

विद्यार्थीलाई हरेक क्षेत्र जस्तै साहित्यदेखि खेलकुद, व्यापार- व्यवसायमा सानैदेखि 'इन्टर्नसिप' गराएमा उनीहरुले आफ्नो रुचि पहिचान गर्न सिक्ने र भविष्यमा के बन्नेबारे उनीहरु आफैंले थाहा पाउन सक्ने उनले भनाइ राखे।

यस्तै, अर्का वक्ता मोइन उद्दिन सबै विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै ‘एक्स्पोजर ट्रिप’मा लैजान सके उक्त सिकाइ प्रभावकारी हुने बताउँछन्।

‘अर्को कुरा अब तराईको विद्यार्थी हिमालमा, हिमालको विद्यार्थी तराईमा गएर पढोस् भन्ने चाहन्छु। कम्तिमा साना विद्यार्थीले जीवन जगत, समाज, क्लचर बुझन पाउनुहुन्छ। भेदचाव पनि कम हुन्थ्यो। यसरी कुराकानी गर्दा सबै एउटै मान्छे रहेछ भन्ने उनीहरु महसुस गर्न पाउँछन्,' मोइनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell