![नेपालमा १९ वर्ष जेल बसेका चार्ल्स शोभराज पुगे पेरिस](https://pahilopost.com/assets/upload/contentthumb/222224.png)
नेपालमा १९ वर्ष जेल जीवन बिताएर रिहा भएका कुख्यात अपराधी चार्ल्स शोभराज पेरिस पुगेका छन्।
बिकिनी किलर र दी सर्पेन्टका रुपमा परिचित ‘सिरियल किलर’ शोभराजलाई हिजो नेपालबाट 'डिपोर्ट' गरिएको थियो। हिजो प्रहरीले उनलाई अध्यागन विभाग बुझाएको थियो। त्यसपछि अध्यागनले हिजो नै उनलाई डिपोर्ट गरेको थियो। दोहा हुँदै आज उनी फ्रान्सको राजधानी पेरिस पुगेका हुन्।
नेपालबाट डिपोर्ट भएर फर्किँदै गर्दै शोभराजले नेपाललाई मुद्दा हाल्ने बताएका थिए। फ्रान्सेली समाचार संस्था एएफपीलाई प्रतिक्रिया दिँदै शोभराजले भने ‘मैले धेरै गर्नुपर्ने छ। नेपाल राज्यसहित धेरै मानिसलाई मैले मुद्दा हाल्नु पर्छ।’
बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो।
शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि केन्द्रीय कारागार सुन्धारामा कैदमा थिए। शोभराजले कैद छुटको माग गर्दै ४ वर्षअघि सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। अमेरिकी नागरिकको हत्या अभियोगमा कसुरदार ठहर भई सर्वोच्चकै फैसलाबाट केन्द्रीय कारागारमा थुनामा रहेका शोभराजले वारेसमार्फत रिट दर्ता गरेका थिए। सर्वोच्चले ७८ वर्ष उमेर पुगिसकेको र मुटुको सर्जरी गर्नुपर्ने अवस्था देखिएकोले उनलाई अन्य मुद्दा नभए छाड्न आदेश दिएको थियो। शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेकाले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको आदेशमा उल्लेख छ।
२०३२ सालमा एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबिचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडियन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो। जन्मकैदमा २० वर्षको सजायको व्यवस्था अनुसार उनी २०८० असोज १ सम्म कैदमा बस्नुपर्ने थियो। तर, अदालतले उनलाई रिहा गर्न आदेश दिए लगत्तै हिजो नै उनलाई १० वर्ष नेपाल फर्किन नपाउने गरि डिपोर्ट गरिएको हो।