काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको दाबी गरेका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि प्रधानमन्त्रीका लागि प्रचण्डले दबाब बढाइरहेका बेला ओलीको प्रचण्ड प्रधानमन्त्री नबन्ने दाबी आएको हो।
प्रचण्डले निर्णय गर्न ढिलो गरेको ओलीको भनाइ छ। 'पुष्पकमल दाहालजीले प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ तर उहाँले ढिलो गर्नुभयो,' ओलीले भने। पार्टी कार्यालय च्यासलमा आयोजित प्युठानबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन कार्यक्रममा ओलीले अरु नेताले पनि प्रधानमन्त्रीका लागि कदम चाल्न ढिलो भएको बताए।
उनले फेरि पनि मध्यावधि निर्वाचनमा देश जाने सम्भावना रहेको पनि बताए।
'जे जस्ता काम छन् समयमै गर्नुपर्छ। गरिँदैन भने समयले नै समाप्त पारिदिन्छ। समयले नै त्यसको फल खान्छ। यदी तपाईंले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न बेच्न पनि पाउनु हुन्न। उहाँको सम्भावना सामान्यतया समाप्त भएजस्तो देखिन्छ। किनभन उहाँले समयमा कदम चाल्नु भएन। अरुले पनि समयमा कदम चालेन भने देश घुमिफिरि मध्यावधि तिर जाने सम्भावना फेरि पनि छ। जादैँन भन्न सकिँदैन,' ओलीको टिप्पणी छ।
सत्ता स्वार्थको टकरावका कारण नयाँ सरकार गठन हुन नसकेको बताउँदै ओलीले एमालेसँग मात्रै राष्ट्रिय स्वार्थ बाहेकको स्वार्थ नभएको दाबी गरे।
'सरकार गठन हुनै सकेको छैन स्वार्थको टकरावले, अनि सञ्चालन कसरी हुन्छ। नेकपा एमाले मात्रै हैसियत छ। तर राष्ट्रिय स्वार्थ बाहेक दलगत स्वार्थ छैन,' उनले भने।
एमालेका नेता पद र ओहोदाका लागि देशको बारेमा चिन्तन गरिरहेको ओलीले बताए। उनले एमाले तरल राजनीतिक स्थितिमा मुकदर्शक नबन्ने पनि बताए। राजनीतिलाई सकारात्मक बाटोमा लिन एमालेले भूमिका खेल्ने उनको भनाइ थियो।
प्रधानमन्त्रीमा कसलाई समर्थन गर्ने भन्नेबारेमा केहि नबताएका ओलीले आफ्नो पार्टीको गन्तव्य सरकार नभएको बताएका छन्। 'हामी मुकदर्शक भएर बस्न सक्दैनौ जे भए पनि अहिलेको परिस्थितिलाई। ओरालो लागेको परिस्थितिलाई फेरि सकारात्मक बाटोमा कसरी फर्काउन सकिन्छ त्यसमा नेकपा एमालेको ध्यान गइरहेको छ,' उनले भने।