पोखराः नृत्य नीलम ढुंगानाको सोख। २०६४ सालमा दुर्घटनामा परेर उनले एउटा खुट्टा मात्र गुमाइनन्, आफ्नो इच्छाको सहारा गुमाए जस्तै भयो। खुट्टासँगै उदेश्य नै भाँच्चिएझैं भयो उनलाई। तर, आत्मविश्वास ढल्न दिइनन् उनले।
आत्मविश्वास त नडगमगाएको भने होइन। तर, उनले केही गुमाए पनि धेरैथोक पाइन्। उभिने सहारा गुमाए पनि, हिँड्ने बाटो पाइन्। हिँड्ने बाटोमा यस्तो मोड आयो जहाँ उनले एउटा खुट्टाले उभिन मात्र होइन फेरि उसैगरी नाँच्न सकिन। फेरि, रहरको बाटो हिँड्न थालिन।
जसको प्रतिफल निलम आज अन्तर्राष्ट्रियस्तरका मञ्चमा छिन्। निलमको हिम्मत मात्र होइन, हजारौं अपाङ्गता भएका व्यक्तिका लागि उदाहरण बनिरहेको छ।
‘म अरुभन्दा फरक देखिन्छु भनेर नृत्य गरेको पनि होइन। दुर्घटनापछि मलाई आत्मविश्वास पनि थिएन। यसरी बोल्न पनि सक्दिनँ थिएँ। कन्फिडेन्स थिएन, सेल्फडाउट थियो,’ ढुंगानाले नेपाल लिटरेचर फेस्टिबलको सत्रमा सुनाइन्, ‘तर, जुन चिजसँग प्यासिनेट भइन्छ, कहीँ न कहीँबाट डोर्याएर ल्याउने रहेछ।’
पोखरामा जारी लिटरेचर फेस्टिबलको तेस्रो दिन भएको ‘फरक, अब्बल’ सत्रमा वक्तमा रुपमा निलमसहित कलाकार सुजल बम र अमिर बोम्जनले आफ्नो भोगाइ भन्दै थिए। जसको सहजीकरण पत्रकार गजेन्द्र बुढाथोकीले गरे।
नाच आफ्नो सोख भए पनि दुर्घटनापछि केही समय उनलाई किन नाच्नु लाग्यो। तर, अहिले आफ्नो प्रस्तुतिका कारण दर्शकले दिएको प्रेमले आफ्नो सोच बदलिएको सुनाउँछिन् निलम।
‘आफ्नै बिजोग देखाएर किन नाच्ने? डर, लाज मलाई पनि लाग्थ्यो। कसैले केही भन्ने हुन् कि मन नपराइदिने हुन् कि भन्ने लाग्थ्यो। पर्फमेन्स अघि र पछि व्यवहार फरक हुन्छ। काहीँ न काहीँ उहाँहरुको सोच बदल्न सकेको रैछु नि भन्ने हुन्छ,’ उनले भनिन् ।
निलम जस्तै पछिल्लो समय चर्चामा छिन् अर्की कलाकार सुजल बम ।
सामाजिक सञ्जाल ‘टिकटक’लाई सदुपयोग गर्दै सुजलले आफ्नो कला देखाएकी हुन्। र, प्रवेश गरेकी हुन् कलाकारिता क्षेत्रमा। ‘लिपसिङ’कै आधारमा थुप्रै म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् सुजलले।
मिस एसईई २०१९ मा भाग लिएर चौथो स्थान ल्याएकी हुन् सुजलले। जहाँ दोभाषे नहुँदा पनि आफू हिम्मत गरेर उक्त प्रतियोगितामा भाग लिएको बताइन् उनले।
'१० कक्षापछि मिस एसईईमा भाग लिएकी थिएँ। त्यसमा पनि दोभाषेको व्यवस्था थिएन। दोभाषे नहुँदा धेरै समस्या भोग्नुपर्यो । तर, जे गरें आफ्नै बलबुत्ताले गरें। साथ बाबाको पनि रह्यो,' सुजलले सुनाइन् ।
डोटीबाट काठमाडौं आएर संघर्ष गरिरहेकी सुजलसँग बहिरा भएकै कारण भोग्नुपरेका समस्याको थुप्रो छ।
नाच सिक्ने सुजलको रहर थियो कोरोनाले कक्षा रोकियो। मन भुलाउन टिकटक प्रयोग गरिन। उनको नाचलाई दर्शकले मन पराए।
‘सुरुमा नाच सिक्छु भन्दा पनि बहिरा भनेर कसैले सहयोग गरेन। तर, कोरोनाका बेला टिकटकमा नृत्य गर्दै भिडियो हाल्न थालेँ। धेरैले मन पराइदिनुभयो,’ उनले भनिन्।
निलम र सुजलको जस्तै कथा छ अमिरको पनि। जन्मिँदैदेखि अमिरको घाँटीभन्दा मुनिको भाग चलेन। जसले उनलाई एक्लोपनमा रमाउन सिकायो। एक्लोपन उनको साथी बन्यो। संसार देख्ने उनको सपनामा कोठा नै उनको संसार बन्यो। कोठाबाट देखिने गुम्बा। पुग्ने रहर उनको कतिकती। तर, पुगुन कसरी। गुम्बा पुग्ने रहरलाई क्यानभाषमा कोरे। गुम्बा नपुगे पनन उनले गुम्बालाई आफ्नो आँखा अगाडि क्यानभाषमा उतारे। र, बने कलाकार। संसार चियाउने उनको सपनाले आज उनलाई चिनायो।
‘मेरै घरबाट हेरिराखेको गुम्बा थियो। त्यो गुम्बामा पुग्न मन लाग्थ्यो, आफ्नो कुरा सुनाउन मन लाग्थ्यो। टाढाबाट भगवानले मेरो कुरा सुनेन भन्ने लाग्यो। अचानक गुम्बाकै स्केच बनाइसकेको रैछु,' उनले भने।
उनको एक्लोपनमा सहारा प्रकृति बन्यो। प्रकृति छेउ पुग्न नसके पनि उनले क्यानभाषमा समेटे। मनको पीडा र भोगाइ उतारेर अमिरले। तर, आफ्नो कला पहिल्याउन सकेनन् सुरुवातमा उनले। उनकै भाषामा भन्ने हो भने कलाले भरिएको गिलास भूकम्पले लडायो। अनि, मात्र थाहा भयो उनलाई आफ्नो कला।
‘चित्र गर्दा कति रमाइलो लाग्थ्यो, मनको पीडा चोट, भोगाइ आउँथ्यो। पीर आउँथ्यो। तर, बाहिर ल्याउन सकेको थिएन। तर, पछि भूकम्प आयो। त्यतिबेला मैले आफूमा पनि केही कला छ है भन्ने जान्ने मौका पाएँ। गिलासमा पानी भएर पनि फैलिन पाएको छैन भन्ने लाग्यो। भूकम्प आएर गिलासलाई लडाइदियो र पानी जताततै फैलियो,' अमिरले भने ।
आफूले पुग्न नपाएको गुम्बा आफू छेउ ल्याएर कलाकारको यात्रा सुरु गरेका अमिरको चित्रकला पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिभलमा पनि प्रदर्शनीमा छ।