PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कृष्ण बजगाईको नियात्रा संग्रह 'उमिहोतारु'को भर्चुअल लोकार्पण, विभिन्न देशका स्रष्टासँग अन्तरक्रिया



पहिलोपोस्ट

कृष्ण बजगाईको नियात्रा संग्रह 'उमिहोतारु'को भर्चुअल लोकार्पण, विभिन्न देशका स्रष्टासँग अन्तरक्रिया

काठमाडौं : बेलायतमा रहेका साहित्यकार कृष्ण बजगाईको नियात्रा संग्रह 'उमिहोतारु'को भर्चुअल लोकार्पण भएको छ। लोकार्पणपछि उमिहोतारुमाथि अन्तरक्रियासमेत भयो।  समकालीन साहित्य प्रतिष्ठान बेलायतले शनिवार नेपाली समयअनुसार साँझ गरेको अन्तरक्रियामा अमेरिकादेखि जापानसम्मका साहित्यकारहरुले उमिहोतारुबारे आफ्नो धारणा प्रस्तुत गरे।

साहित्यकार डा विदुर चालिसेले उमिहोतारु अरु कृतिको तुलनामा कवितात्मक र भावुक रहेको बताए। 'यात्राको विवरणभन्दा भावनात्मक बढी देखिन्छ उमिहोतारुमा। कवितात्मक छन् र भावुक छन्,' चालिसले भने, 'विषयवस्तु नयाँ छन्। टिप्ने शैले रोमाञ्चक देखिन्छ। विभिन्न किवंदन्ती र रहनसहनलाई टपक्क टिपेर राख्नुभएको पाइन्छ।'

अर्का साहित्यकार कपिल अज्ञातले बजगाईका नियात्रामा अनुभव र ज्ञान दुबै भएको धारणा राखे। प्रतीक ढकाल र दामोदार पुडासैनीसँगै बजगाई नियात्राका त्रिमूर्ति भएको उल्लेख गर्दै अज्ञातले भने, 'यो पढेपछि महत्वपूर्ण दृष्टिमा ज्ञान दिने काम पनि नियात्रा रहेछ। दामोदार पुडासैनी, प्रतीक ढकाल र कृष्ण बजगाई त्रिमूर्ती हुन् नियात्राका। सन्तुलित र व्यवस्थित गर्नु नै नियात्रा हो। अनुभव र ज्ञान दुबै प्राप्त हुन सकोस्। बजगाईका नियात्रामा दुबै छन्।'

साहित्यकार विश्वराज अधिकारीले बजगाईको व्यक्तिगत चरित्र र योगदान उल्लेख गर्दै नियात्रामा संग्रहित 'बतासे सहरमा बादलको गेट' शीर्षकको नियात्राबारे चर्चा गरे। 'अरुलाई पनि सहयोग गरेर स्थापित हुन खोज्ने साहित्यकार हुन् बजगाई। बजगाईले साहित्यका अनलाइनदेखि जर्नलसम्म सञ्चालनमा सक्रिय छन्। साहित्यिक योगदान छ उहाँको,' अधिकारीले भने, 'बतासे सहरमा बादलको गेट - पुस्तकको एउटा नियात्रा हो। यो नियात्रा पाठक आफै त्यहाँ पुगेको झैं लागिरहन्छ। यसले मनोरञ्जनमात्र हैन जानकारी पनि दिन्छ। ती जानकारीको एतिहासिक महत्व पनि दर्शाउँछ।'

अमेरिकाको टेक्सासमा रहेका साहित्यकार खेमराज पोखरेलले संग्रहमा रहेको योनी म्युजियम चियाउँदा शीर्षकको नियात्राबारे चर्चा गरे। पोखरेलले लेखकमा यात्रा, जानकारी र निजात्मकता भएको उल्लेख गरे। 'उहाँ लघुकथा पनि लेख्नुहुन्छ। यात्रा, जानकारी र निजात्मता चाहिन्छ। यसमा यात्रा आएको छ। यो बेलायतको यात्रा हो। २०२१ जुनको २१ मा। कसरी जानुभयो भने रेलबाट। योनी चेतनालाई शास्त्रीय तवरले आकर्षक बनाइएको छ। संसारभरिका योनिका महत्वहरु छन्। निजात्मकता अति धेरै छ। अनुकरणीय छ। एकदमै राम्रो छ। इमान्दार बनेका छन्। तर म्युजियमको भन्दा पनि योनीको कुरा धेरै छ,' पोखरेलले भने।

साहित्यकार प्रकाश पौडेल `माइला´ले बजगाई प्रवासमा भएर पनि निरन्तर लेखिरहने सफल स्रष्टा भएको बताए। 'लोभलाग्दो किसिमले लेखिरहनुभएको छ।  उहाँले निरन्तर लेखिरहनुभएको छ। उमिहोतारुको सफलताको शुभकामना,' पौडेलले भने।

यता अमेरिकाबाटै भारती गौतमले नेपाली साहित्यको भण्डारमा नयाँ नयाँ कृति थप्न बजगाईलाई शुभकामना दिइन्। 'उहाँ व्यक्तिभन्दा संस्था हुनुहुन्छ। साहित्यिक नशा लागिरहोस्। नेपाली साहित्यको भण्डारमा नयाँ नयाँ रचनाहरु आइरहोस्,' गौतमले भनिन्।

नेपालबाट सहभागी साहित्यकार मोहराज शर्माले बजगाईका हरेक नियात्रामा नेपाल जोडिएको उल्लेख गरे। 'नियात्रा लामा पनि छैनन्। छोटा पनि छैनन्। हरेक नियात्राको क्लाइमेक्समा नेपाल जोडिएको छ। बेलायतका विभिन्न विश्वविख्यात कविहरुकहाँ जाँदा उहाँ लक्ष्मीप्रसाद देवकोटा सम्झनुहुन्छ। लेखनाथ पौड्याल सम्झनुहुन्छ। नेपालको अवस्थाको चिन्ता प्रकट गर्नुहुन्छ,' शर्माको भनाई थियो।

बेलायतबाट प्रकाशन हुँदै आएको प्रवासनको सम्पादक डा. कृष्ण उपाध्यायले भने बजगाई सफल नियात्राकार भएको भन्दै तारिफ गरे। लेखकमा जेम्स बन्ड सिन्ड्रोम देखिएको उल्लेख गर्दै उपाध्यायले नियात्रमा भाव व्यक्त भएको दाबी गरे। 'जेम्स बन्ड सिन्ड्रोम देख्छु। सुक्ष्म तवरले हेर्ने आँखा छ। हामीलाई विषयवस्तुमा गहिरो तवरले लानुहुन्छ। कहिलेकही तपाईहाम्रोबारेमा पनि लेख्नुहुन्छ। हामीलाई पनि पात्र बनाउनुहुन्छ। नयाँ प्रवृत्ति उहाँमा के देखिन्छ भने सुक्ष्म चिजलाई खोतलेर आफ्नो पन उहाँले हाल्नुहुन्छ। उहाँको चिन्तन प्रणाली काव्यिक छ। उहाँ भाव पनि बोल्नुहुन्छ। उहाँ सफल नियात्राकार जस्तो लाग्छ मलाई,' उनले भने।

साहित्यकारहरु राजेन्द्र डंगोल, पशुपति पराजुलीलगायतले पनि आफ्नो धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि साहित्यका माधवप्रसाद पोखरेलले बजगाईका नियात्रामा आलोक र उज्यालाका कुरा भएको उल्लेख गरे। पोखरेलले लेखक र आफ्नो जन्मस्थान एकै भएको स्मरण गराउँदै डायस्पोराबारे प्रकाश पारे।

'उहाँ परदेशी हुनुभएको छ। डायस्पोरा शब्दलाई भारतीय नेपालीहरु मन पराउँदैनन्। देशले टिक्न नदिएर जानेहरुलाई डायस्पोरा भन्नुपर्ने। टिस्टा र काँगडा हामी देश छाडेर गएका हैनौ भनेर सीमानाले गर्दा त्यस्तो भएको भन्छन्। प्रवासी र परदेशी शब्द छुट्याए। फर्केर आउने परदेशी। नेपाल नआउने प्रवासी नेपाली हुन्,' पोखरेलले भने, 'परदेशमा भएका पक्षपातका कुराहरु लेख्नुपर्नेमा यहाँ त आलोक र उज्यालो कुरामात्र छ। नियात्रा शब्द बालकृष्ण पोखरेलले बनाएका हुन्। यो यात्रा साहित्य मात्र हैन, निबन्धात्मक हुनुपर्छ।'

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उमिहोतारुमा २१ नियात्राहरु संग्रहित छन्। समकालीन साहित्य प्रतिष्ठान, बेलायतका सचिव डा लेखप्रसाद निरौलाद्वारा सञ्चालित कार्यक्रम भुँडीपुराणका प्रकाशक केशवप्रसाद पराजुलीको अध्यक्षतामा समापन भएको हो। लेखक बजगाईका विभिन्न विधामा विभिन्न पुस्तकहरु प्रकाशित छन्। नियात्राको भने यो चौथो कृति हो। डायस्पोरामा रहेर पनि नेपाली कृतिमाथि योगदान दिनु निकै मुश्किल काम भएको उल्लेख गर्दै सहभागीहरुले बजगाईको प्रशंसा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell