काठमाडौं : नयाँ बन्ने सरकारमा प्रधानमन्त्री कसलाई बनाउने भन्नेबारेमा सहमति जुटाउत सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री बालुवाटारमा सुरु भएको छ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का लगायतका नेताहरु बैठकमा सहभागी रहेको गठबन्धनका एक नेताले बताए।
गठबन्धनको बैठक अघि देउवा-प्रचण्डबिच वार्ता भएको थियो। राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दिएको हप्ता दिनको समय आज सकिँदै छ। गठबन्धनका नेताहरु समय सकिन लागेपछि केहि दिन यता लगातार छलफलमा छन्।
पहिला प्रधानमन्त्री को बन्ने भन्नेबारेमा देउवा-प्रचण्डबिच सहमति हुन सकेको छैन। प्रचण्डले यसअघि गठबन्धनबाट सरकारको नेतृत्व कांग्रेसले गरेकोले अब नयाँ सरकारमा पहिलो पटक आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरिरहेका छन्। गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरुबिच पनि छलफल भएको थिए।