PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

लगातार तीन खेल हारेको नेपाली टोलीको लक्ष्य : अपराजित बंगलादेशलाई हराएर फाइनल पुग्ने



पहिलोपोस्ट

लगातार तीन खेल हारेको नेपाली टोलीको लक्ष्य : अपराजित बंगलादेशलाई हराएर फाइनल पुग्ने
Photo: NSJF

काठमाडौं : नेपाली राष्ट्रिय यू-२३ भलिबल टोलीले बंगबन्धु एसियन सेन्ट्रल जोन यू-२३ अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप प्रतियोगिताको फाइनल प्रवेशका लागि आज आयोजक बंगलादेशसँग खेल्दैछ। बंगलादेशको राजधानी ढाकास्थित शाहीद सुहरावर्दी इनडोर स्टेडियममा हुने नेपाल र बंगलादेशबिचको  सेमिफाइनल खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ।

प्रतियोगितामा यसअघिको तीनवटै खेलमा नेपालले पराजय ब्यहोरेको छ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरि चार टोलीको सहभागिता छ।  लिगचरण पछि चारवटै टोलीले सेमिफाइनल खेल्न लागेका हुन्।

आजको खेलमा नेपाली टोली जित निकाल्दै इतिहास रच्ने योजनामा बंगलादेशविरुद्ध उत्रँदैछ। लिग चरणको पहिलो खेलमा नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित भएको थियो। नेपाललाई आजको खेलमा अघिल्लो नतिजा उल्ट्याउँदै प्रतियोगिताको उपाधि नजिक हुने अवसर हुनेछ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको टोलीले तीन खेलमा आशा लाग्दो प्रदर्शन गरेको र आजको खेलमा जित निकाल्ने कुरामा आफू विश्वस्त भएको बताए।

‘अन्तर्राष्ट्रिय अनुभव नबटुलेर हामी प्रतियोगिता खेल्न आएका थियौं। त्यसका बाबजुत पनि हाम्रो प्रदर्शन निकै राम्रो रह्यो। अब तीन खेलमा हामीले लिएको ज्ञानलाई आजको खेलमा सदुपायोग गर्नेछौं,’ भट्टले भने, 'लिग चरणमा नेपालले गरेको प्रदर्शमा म खुशी छु। अब इतिहास रच्ने समय आएको छ। त्यसमा हामी चुक्ने छैनौं। बंगलादेशसँग पहिलो खेल प्रतिस्पर्धात्मक भएको थियो। आज जित निकाल्दा हामी यसै पनि इतिहास रच्छौं,’

प्रतियोगितामा बंगलादेश अपराजित हुँदै सेमिफाइनलमा पुग्ने एक्लो टोली हो। यता नेपाल भने जितबिहीन हुँदै सेमिफाइनलमा पुगेको हो। आज नै हुने पहिलो सेमिफाइनलमा कीर्गिस्तान र श्रीलंकाले खेल्नेछन्। सो खेल दिउँसो २ः४५ बजे हुनेछ।

नेपाली टोलीका कप्तान धिरोज बस्नेतले आजको खेलमा बंगलादेशविरुद्ध नयाँ रणनीति लिएर मैदानमा उत्रने बताए। उनले पहिलो खेलमा अन्तर्राष्ट्रिय अनुभव नभए पनि उत्कृष्ट प्रदर्शन गरेकाले आजको खेलमा जितका लागि नै मैदान उत्रने बताए।

‘पहिलो खेलमा हाम्रो पहिलो अन्तर्राष्ट्रिय अनुभव थियो। तैपनि आयोजकविरुद्ध राम्रो प्रदर्शन थियो। आज नयाँ रणनीतिका साथ मैदान उत्रने छौं। हामी जितका लागि खेल्नेछौं,’ धिरोजले भने।

आजको खेलमा जित निकाल्ने दुई टोली उपाधिका लागि खेल्नेछन् भने पराजित हुने टोली भोलिको फाइनल खेलअघि तेस्रो स्थानका लागि खेल्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell