PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रचण्डको ब्रिफिङ : पाँच दलले प्रधानमन्त्री दिन नसके विकल्प खोज्नुपर्छ, एमालेसँग मिलेर बन्लान् प्रधानमन्त्री?



प्रकाश भण्डारी

प्रचण्डको ब्रिफिङ : पाँच दलले प्रधानमन्त्री दिन नसके विकल्प खोज्नुपर्छ, एमालेसँग मिलेर बन्लान् प्रधानमन्त्री?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनबारे विकल्प खोज्नुपर्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गर्नुअघि माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रचण्डले पछिल्लो परिस्थितिबारे 'ब्रिफिङ' गरेका थिए। उनले माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्नुपर्ने तर कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री नछोड्दा गठबन्धन नै खतरामा परेको प्रचण्डले बताएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

के भने प्रचण्डले?

पदाधिकारीहरुलाई प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धनमा जाँदा गठबन्धनका अरु दललाई घाटा भएको बताएका थिए।

'कांग्रेसको नेतृत्वमा चुनावमा जाँदा गठबन्धनका अरु घटकलाई त व्यापक रुपमा हराउने काम भयो त,' प्रचण्डको भनाई उदृत गर्दै गुरुङले भने।

आजै बिहान नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले प्रचण्डलाई भेटेका थिए। उक्त भेटमा पनि निधिले राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसले नछोड्ने बताएका थिए। कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेर अघि बढ्न नसकिने प्रचण्डले आफ्ना पार्टीका नेताहरुलाई बताएका छन्।

कि प्रधानमन्त्री कि प्रतिपक्ष

संविधान अनुसार संसदबाटै प्रधानमन्त्री बन्नुपर्ने स्थितिबाट पछि हट्न नहुने प्रचण्डले बताएका थिए। कांग्रेसले सरकार गठनका लागि आफ्नो बटमलाइन नछोडे तर अरु विकल्पमा पनि छलफल गर्नुपर्ने प्रचण्डले बताएका थिए।

'गठबन्धनको नेतृत्व परिवर्तन गर्नुपर्ने अवस्था देखियो।परिवर्तन गर्ने हो भने त ठीकै छ नभए त उहाँको नेतृत्व सफल हुन सकेन भन्ने त देखियो। प्रधानमन्त्रीबारे फेरि पनि सहमति हुन सक्छ कि सक्दैन् भनेर फेरि पनि प्रयास गर्ने अध्यक्षले भन्नुभयो,' गुरुङले भने।

एमालेसँग मिलेर सरकार बनाउँला माओवादीले?

दोस्रो ठूलो दल नेकपा एमालेसँग मिलेर सरकार बनाउने बारेमा पनि माओवादी केन्द्रले छलफल नगरेको होइन। तर गठबन्धन जति सजिलो एमालेसँग मिल्ने अवस्था नभएकाले प्राथिमकितामा गठबन्धन नै रहेको माओवादी केन्द्रका नेताहरुले बताएका छन्।

माओवादी केन्द्रका सचिव गणेश साहले एमालेसँग मिलेर सरकार बन्ने सम्भावना कम भएको बताए।

'सके गठबन्धनबाटै बन्छ भन्ने हो नभए एमालेसँग मिलेर सरकार बनाउने भन्दा पनि प्रतिपक्षमा बस्ने भन्ने छ,' उनले भने।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि शनिवार प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावन समाप्त भएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell