काठमाडौं: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टारले विराटनगर सुपरकिंग्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा अलस्टारले विराटनगरमाथि ३ रनको रोमाञ्चक जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनी अलस्टारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। अलस्टारका लागि लाहिरु मिलान्थाले सर्वाधिक अविजित ८० रन बनाउँदा कुशल भुर्तेलले २६ रन बनाए। मिलान्थाले ६३ बलमा ४ छक्का र ५ चौकाको सहायतामा ८० रन बनाउँदै प्रतियोगितामा लगातार दोस्रो अर्धशतकीय पारि खेलेका हुन्।
त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन बनाउँदा बिपुल शर्माले ११ रन बनाए। बलिङतर्फ बिराटनगरका नन्दन यादव, हुसैन तालत, शाहब आलम, सिकन्दर राजा र आन्द्रेम्याककार्थीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको विराटनगर निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रनमा समेटियो। विराटनगरका लागि हुसैन तलतले सर्वाधिक ३९ रन बनाउँदा रोहित पौडेलले २५, पृथु बास्कोटाले १८, शिकन्दर राजाले १७ रन बनाउँदा विवेक यादव १२ र आन्द्रे म्याककार्थी ११ रनमा अविजित रहे।
जारी प्रतियोगितामा अलस्टारको लगातार दोस्रो जित हो भने पहिलो खेल खेलेको विराटनगरको यो पहिलो हार हो। अलस्टारले यसअघि आफ्नो पहिलो खेलमा फारवेस्टर्न युनाइटेडलाई हराएको थियो।