PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

डेढ घण्टाको समय मागेर हिँडेका प्रचण्ड बालकोट पुगेपछि बालुवाटार सुनसान



पहिलोपोस्ट

डेढ घण्टाको समय मागेर हिँडेका प्रचण्ड बालकोट पुगेपछि बालुवाटार सुनसान

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा छन्। सरकार बनाउने समय घर्किँदै गर्दा दलका नेताहरू सरकार बनाउने गठबन्धनको जोड घटाउमा लागेका छन्। बिहानदेखि नेपाली कांग्रेससँग छलफलमा रहेका माओवादी अध्यक्ष अहिले नयाँ गठबन्धनको सरकार बनाउन कसिएका छन्। जसको कारण नै उनी अहिले बालुवाटारबाट बालकोटमा छन्।

मध्याह्नतिर बालुवाटरमा प्रधानमन्त्री पदको विषयमा सहमति हुन नसकेपछि नयाँ सरकार गठन गर्न उनी बालकोट पुगेका हुन्। आफूले सरकारको नेतृत्वका लागि राखेको प्रस्ताव कांग्रेसले स्वीकार नगर्दा अध्यक्ष दाहालको बाटो बालुवाटारबाट बालकोटतिर सोझिएको हो।

अहिले बालकोटमा अध्यक्ष दाहाल मात्र होइन अन्य पाँच दलका नेताहरू पनि सहभागी भएका छन्। जसमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादीका वरिष्ठ नेता अशोक राई रहेका छन्। उनीहरू बिच वार्ता चलिरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि मिसिएका छन्।

एकाएक बालकोटमा नेताहरूको चहलपहल बढ्दा बालुवाटरमा भने सन्नाहटा छाएको छ। कांग्रेससँग कुरा नमिलेपछि अध्यक्ष दाहाल डेढ घण्टाको समय मागेर बालुवाटारबाट निस्किएको कांग्रेसका एक नेताले बताए। डेढ घण्टा भन्दा बढी समय भयो, उनी अहिले ओलीसहित अन्य दलसँग वार्तामा छन्।

प्रचण्ड र ओलीको वार्ता सफल भएर बैठकमा सहभागी भएका अन्य दलले साथ दिएको खण्डमा नयाँ गठबन्धन बन्ने देखिन्छ। बैठकबाट बाहिरिएका जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले नयाँ गठबन्धन बन्ने सम्भावना रहेको बताएका छन्।

ओली निवासमा बसेको बैठक सकारात्मक रुपमा अघि बढेको खण्डामा नयाँ गठबन्धनले सरकार बनाउने सम्भावना देखिएको छ। सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज ५ बजेसम्मको लागि समय दिएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell