PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ८-९ वर्षमा लागत उठाउँछ'



रिना थापा

'पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ८-९ वर्षमा लागत उठाउँछ'

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको संघारमा छ। जनवरी पहिलो तारिखदेखि विमानस्थल संचालनमा आउन लागेको हो।

पर्यटकीय नगरी पोखरामा संचालन हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलका सम्भावना र चुनौतीबारे चर्चा भइरहन्छ। यसै क्रममा विमानस्थलको विषयले पोखरामा जारी दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा पनि स्थान पायो।

आइतबार ‘संघारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ सेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्वपर्यटन सचिव एवं हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजा र पर्यटन व्यवसायी वसन्तराज मिश्रले खुलेर आफ्नो विचार राखे। जसको सहजकर्ता थिए पत्रकार प्रतीक प्रधान।

पोखरा संचालनमा आउन लागेको नयाँ विमानस्थलले पर्यटकीय नगरी पोखरामा उत्साह थपेको त छ। तर, योसँगै चर्चाको विषयमा प्रश्न छ - विमानस्थलले लागत खर्च उठाउन सक्छ वा सक्दैन?

जसमा पूर्व अर्थसचिव रामेश्वर खनालले पोखरा विमानस्थलले ८-९ वर्षमा आफ्नो लागत खर्च उठाउन सक्ने प्रतिक्रिया दिए। विमानस्थल संचालनमा आएपछि सोचे अनुरुप पोखरामा पर्यटक भित्रीन सके चिनियाँ ऋण ९ वर्षभित्र उठ्ने उनको दाबी रह्यो।

‘परिकल्पना गरिएअनुसारको पर्यटक संख्या वृद्धि हुन सक्यो भने वर्षमा एक अर्ब जति खुद नाफा गर्छ। २२-२३ अर्बको लागत ८-९ वर्षमा उठाउँछ,’ उनले भने।

यस्तै, पोखरामा पर्यटकको संख्या बढाउन  फरक पर्यटक ल्याउनुपर्ने उनले सुझाए। ठूला कम्पनीका सेमिनार, गोष्ठी गरेर आन्तरिक पर्यटनलाई पनि लक्षित गर्नुपर्ने उनको जोड थियो।

‘अहिलेसम्म पोखरामा रमाउन, ट्रेकिङ जान आउँछन्। पोखरा अहिलेसम्म नलागेको अर्को क्षेत्र मिटिङ, कन्फेरेन्सतिर हो। त्यसको लागि सरकार हामीसँग हुनुपर्‍यो। त्यो पर्यटन विकास गरे बढी लगानी भएको होइन,’ उनले भने।

अन्य विमानस्थलको तुलनामा खर्च बढी भए पनि पूर्वाधार लामो समयलाई सोचेर बनाइने भएकाले आत्तिन नहुने उनको भनाइ थियो।

यस्तै, सत्रमा बोल्दै महानिर्देशक प्रदिप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले देशकै आर्थिक अवस्थामा योगदान गर्ने दाबी गरे।

'यो विमानस्थलले पोखरामात्रै होइन देशको आर्थिक अवस्थामा पनि योगदान गर्छ भन्ने विश्वास छ। यो पोखरा र देशको लागि गर्व आयोजना हो,' उनले भने।

विमानस्थल संचालन गर्दा आउने समस्यालाई समाधान गर्दै लैजानुपर्ने उनले बताए।

‘सुरु गर्दै जाँदा आउने समस्यालाई त्यही तहबाट समाधान गर्दै जानुपर्छ। पोखरालाई पर्यटनको राजधानी भन्छौँ। पोखरा विमानस्थलमा राति उडान हुँदैन। यो भएकाले यो विमानस्थल आवश्यक थियो,' उनले भने।

यद्यपि, पर्यटन क्षेत्रलाई मात्र विमानस्थल चलाएको हो भन्ने भाष्य निर्माण गरे विमानस्थल चल्न सम्भव नहुने भनाइ उनको थियो।

यस्तै, पूर्वपर्यटन सचिव वीरेन्द्रबहादुर देउजाले विमानस्थलले पोखराको पर्यटनमा सहयोग गर्ने दाबी गरे। यसले पोखराको समृद्धिको ढोका खोलिदिएको उनको भनाई छ।

‘संसारमा पर्यटन ९० प्रतिशत पर्यटन हवाइ माध्यमबाटै हुन्छ। यसले पोखराको पर्यटनलाई धेरै सहयोग गर्छ। पर्यटन क्षेत्रबाट पनि धेरै सहयोग गर्नुपर्छ। विमानस्थलले पोखराको समृद्धिको ढोका खोलेको छ,' उनले भने।

विमानस्थलको लागतको विषयमा महंगो भयो भन्ने बहस आवश्यक नरहेको उनले बताए।

‘पहिला मुआब्जा दिनै पहाड थियो। चिनियाँसँग इपीसी मोडलमा मिलेर बनाउने भएपछि पैसाको समस्या समाधान भयो। इपीसीमा नबनेको भए अझै लम्बिन सक्थ्यो। महँगो भयो भन्ने कुरा होइन। महत्वपूर्ण कुरा अब कसरी संचालनमा राम्रोसँग ल्याउने भन्ने हो,' उनले भने।

लागतबारे पर्यटन व्यवसायी बसन्तराज मिश्रको पनि उस्तै धारण छ।

गर्वको विषय बनेको विमानस्थलको खर्चबारे वादविवाद नगर्न उनले भने।

‘एअरपोर्ट गर्वको चिज हो। खर्चबारे वादविवाद नगरौँ। पर्यटनलाई उडान र उडानलाई पर्यटनको साथ भएन भने दुवै बाँच्न सक्दैनन्। हामीले २१६ मिलियन डलर खर्च गर्‍यौं। १३ वर्षमा २६ किस्ता तिर्नुपर्दा १८.२ मिलियन डलर तिर्नुपर्छ। विश्वमा विमानस्थलले १८.४९ प्रति यात्रु कमाइरहेको छ। मिलियन पर्यटक भयो भने हामी बाँच्न सक्छौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell