PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

गठबन्धन जोगाउन नसक्दा पहिलो पार्टी बने पनि कांग्रेसले गुमायो संघदेखि प्रदेश सम्मको सत्ता



पहिलोपोस्ट

गठबन्धन जोगाउन नसक्दा पहिलो पार्टी बने पनि कांग्रेसले गुमायो संघदेखि प्रदेश सम्मको सत्ता

काठमाडौं : गठबन्धन जोगाउन नसक्दा पहिलो दल बनेको नेपाली कांग्रेसले सत्ता गुमाएको छ। सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचनमा गएपछि अघिल्लो निर्वाचनमा दोस्रो बनेको कांग्रेस यसपटक ८९ सिट पाउँदै पहिलो बनेको थियो।

यद्यपि गठबन्धन जोगाउन नसक्दा सत्ता गुमाएको हो। गठबन्धनमा राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने अडान लिएपछि माओवादी एमालेसँग मिल्दा कांग्रेसले सत्ता गुमाएको हो।

योसँगै अब ७८ सिट पाएको एमालेको सहयोगमा ३२ सिट पाएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन्।

प्रचण्ड नेतृत्वको गठबन्धनलाई एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्तिको पार्टीले पनि समर्थन गर्ने भएको छ।

एमाले महासचिव शंकर पोखरेलले १६६ सांसदको समर्थनमा बहुमतमा सरकार गठन हुने बताएका छन्। योसँगै कांग्रेसले प्रधानमन्त्री हैन सभामुख, राष्ट्रपतिजस्ता पद पनि गुमाएको छ।

प्रदेशमा पनि कांग्रेस प्रतिपक्षमा

कांग्रेसले पाँच दलीय गठबन्धन जोगाउन नसक्दा प्रदेश सरकार पनि एमाले माओवादी गठबन्धनको पोल्टामा जाने भएको छ।  

प्रदेश १ मा ४० सिट पाउँदै एमाले पहिलो दल रहेको छ। ९३ सदस्यीय यस प्रदेश सभामा ४७ सिट भए सरकार बन्छ। यहाँ माओवादीसँग १३ सिट रहेको छ। यहाँ राप्रपासँग ६ र जसपासँग एक सिट छ। यस प्रदेशमा कांग्रेसले २९ सिट पाएको थियो।

१०७ सदस्यीय मधेश प्रदेशमा सरकार बनाउने ५४ सिट चाहिन्छ। यहाँ २३ सांसदसहित नेकपा एमाले ठूलो दल रहेको छ। २२ सांसद रहेको कांग्रेस दोस्रो र जसपा १६ सांसदसहित तेस्रो दल बनेको छ।

सिके राउत नेतृत्वको जनमत पार्टी १३ सांसदसहित चौथो दलको रूपमा उदाएको छ। लोसपा ९ सांसदसहित पाँचौँ,  आठ सांसदसहित माओवादी केन्द्र छैटौँ, सात सांसदसहित एकीकृत समाजवादी आठौँ दल बनेको छ। मधेस प्रदेश सभामा ६ जना स्वतन्त्र सांसद छन्। राप्रपाले समानुपातिकबाट दुई, संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक–एक सांसद पाएका छन्। यहाँ पनि एमाले माओवादीकै गठबन्धनको सरकार बन्ने देखिन्छ।

११० सदस्यीय वाग्मती प्रदेशसभामा एमालेसँग २७ र माओवादीसँग २१ सिट छ। यहाँ कांग्रेसका ३७, एकीकृत समाजवादीका ७ सांसद छन्। यहाँ सरकार बनाउनका लागि ५६ सिट आवश्यक पर्छ।

यता गण्डकीमा गण्डकीमा एमालेसँग २२ र माओवादीसँग ८ सिट छ। ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सिट आवश्यक पर्छ। राप्रपाको यहो २ सिट छ। २७ सिट जितेर पहिलो दल बनेको कांग्रेस यहाँ पनि प्रतिपक्षमा बस्ने देखिन्छ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सरकारमा सरकार बनाउने ४४ सिट आवश्यक पर्छ। यहाँ एमाले २९ सिट जित्दै पहिलो दल बनेको छ। कांग्रेससँग २७ सिट रहेको छ।  माओवादीसँग ९ र जसपासँग ३ सिट छ। राप्रपासँग ४ सिट भएकाले राप्रपाले सघाएमा यहाँ पनि कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने देखिन्छ।

यता कर्णालीमा कांग्रेस १४ सिट जितेर पहिलो र १३ सिट जितेर मा‌ओवादी केन्द्र दोस्रो छ। एमाले १० सिट जिते कर्णाली प्रदेशमा तेस्रो बनेको छ। एक राप्रपाको, एक एकीकृत समाजवादीको, एक स्वतन्त्र सांसद छन्। ४० सदस्यीय प्रदेश सभामा २१ जना सांसद भए बहुमत पुग्छ। कांग्रेस पहिलो पार्टी बनेर पनि यहाँ पनि प्रतिपक्षमा बस्ने भएको छ।

सुदूरपश्चिममा कांग्रेस पहिलो पार्टी हो। यहाँ पनि जनमुक्तिले समर्थन गरेमा एमाले माओवादीको सत्ता बन्ने देखिन्छ। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १२ र समानुपातिकमा ७ गरी १९ सिट हात पारेको छ। माओवादी केन्द्रबाट ११, एमालेबाट १०, नागरिक उन्मुक्ति पार्टीबाट सात, एकीकृत समाजवादी पार्टीबाट चार, राप्रपाबाट एक प्रदेश सभा सदस्यको प्रतिनिधित्व भएको छ। एकजना स्वतन्त्रको पनि प्रतिनिधित्व रहेको छ। यहाँ एमाले माओवादी गठबन्धनको ३३ सिट पुग्छ। सुदूरपश्चिममा २७ जना सांसद भए सरकारलाई बहुमत पुग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell