PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

अमेरिकी रक्षा बिलसँग चीन-अमेरिका कूटनीतिक टकराब बढ्यो, ताइवान क्षेत्रमा पीएलएको सैन्य ड्रिल



विधुर ढकाल

अमेरिकी रक्षा बिलसँग चीन-अमेरिका कूटनीतिक टकराब बढ्यो, ताइवान क्षेत्रमा पीएलएको सैन्य ड्रिल

सांघाई: पछिल्लो समय चीन र अमेरिकाबीच कूटनीतिक तनाब बढ्दै गएको छ। गत महिना बालीमा दुई देशका राष्ट्रपतिबीच भएको भेटवार्तापछि संवादको सुरुवात भएको थियो। चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच बालीमा भएको भेटमा संवादलाई निरन्तरता दिने सहमति भएको थियो। 

साथै त्यसको फलोअप स्वरुप छिट्टै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बेइजिङको भ्रमण गर्ने सहमति भएको थियो। संवादलाई निरन्तरता दिने सहमति गरे पनि दुई देशबीच कूटनीतिक टकराब बढेर गएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार मात्र हस्ताक्षर गरेको नेशनल डिफेन्स अथ्योराइजेसन एक्ट (एनडीएए) लाई लिएर दुई देशबीच फेरि तनाब बढेको छ। तनाब बढेसँगै दुबै देशले एक अर्का देशका अधिकारीमाथि प्रतिबन्ध लगाएका छन्। 

आगामी आर्थिक वर्षका लागि जारी भएको एनडीएएले ताइवानसँग सम्बन्ध बढाउने सम्बन्धी कानुनलाई समेत समावेश गरेको छ। सो एक्टमा ताइवान इनहान्स रेसिलाइन्स एक्ट (टीईआरए) पनि समावेश छ। जसले ताइवानलाई आगामी पाँच वर्षका लागि प्रतेक वर्ष दुई बिलियन अमेरिकी डलर रक्षा साहायता प्रदान गर्ने र अन्य देशबाट सैन्य सामाग्री खरिद गर्नका ऋणसमेत प्रदान गर्ने उल्लेख छ। त्यस्तै ताइवानको आपतकालीन रक्षा सहायताका लागि वार्षिक एक बिलियन डलर सहयोग गर्ने प्रस्ताव टीईआरएमा उल्लेख छ। 

एनडीएएमा टीईआरएको उद्देश्य अमेरिका र ताइवानबीच रक्षा सम्बन्धलाई मजबुद बनाउने उल्लेख गरिएको छ। त्यस्तै सो बिलले ताइवानलाई अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा सहभागिताका लागि रणनीतिक सहयोग गर्ने बाटो खुला गरेको छ। त्यस्तै यो बिलले ताइवानसँग सैन्य सम्बन्धलाई बढवा दिनका लागि मिलिटरी स्टुडेन्ट एक्सेजन्स प्रोग्रामलाई अगाडि सारेको छ।  

चीन-अमेरिकी सम्बन्धको आाधारको रुपमा रहेको सांघाई कम्युनिकेसन र अन्य सहमतिले चीन एक रहेको र ताइवान चीनको अंग रहेको भन्ने 'एक चीन नीति'लाई अमेरिकाले स्वीकार गरेको छ। 

प्रतिकारमा ताइवान क्षेत्रमा सैन्य अभ्यास गर्दै चीन

यसैबीच अमेरिकी राष्ट्रपतिले ताइवानलाई रक्षा सहयोग बढाउने विलमा हस्ताक्षर गरेसँगै चिनियाँ सेनाले ताइवान जलडमरु क्षेत्रमा संयुक्त सैन्य अभ्यास सुरु गरेको छ। 

पीएलएको इस्ट्रन थियटर कमाण्डले संयुक्त सैन्य अभ्यास सुरु गरेको छ। कमाण्डका प्रवक्ता सिनियर कोलोनेल शी यीले आइतबार संयुक्त रुपमा सैन्य अभ्यास भएको जनाएका छन्। 

उनले यो अभ्यास अमेरिकाको पछिल्लो कदमको प्रतिक्रिया स्वरुप आएको बताएका छन्। उनले पीएलएको इस्ट्रन कमाण्ड राष्ट्रिय सार्वभौमिकता रक्षा र भौगोलिक अखण्डताका लागि जस्तो सुकै कदम चाल्न तयारी अवस्थामा रहेको बताएका छन्।  

पछिल्लो समय अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि पनि यही कमाण्डले व्यालेस्टिक मिसाइलसहित ताइवान जलडमरु क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेको थियो। 

यसैबीच चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकालाई उत्तेजक कदम नचाल्न चेतावनी दिएका छन्। अमेरिकाको यस्तो कदमले दुई देशबीच टकराब निम्त्याउने उनले चेतावनी दिएका छन्। 

चीनको भ्रमणको तयारीमा रहेका अमेरिकी विदेशमन्त्री ब्लिङ्कनसँगको टेलिफोन वार्ताका क्रममा उनले यस्तो चेतावनी दिएका हुन्। 

यता चिनियाँ रक्षा मन्त्रालयले ताइवानसम्बन्धी मामिला चिनियाँ जनता र चीनको आन्तरिक मामिला भएको भन्दै वाह्य हस्तक्षेप अस्वीकार्य रहेको जनाएको छ। साथै उसले अमेरिकी कदमले चीन र अमेरिकी सैन्यबीच टकरावको अवस्था सिर्जना गर्ने खतरा बढेको बताएको छ। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता तान काइफेले चिनियाँ जनमुक्ति सेना राष्ट्रिय एकता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि जस्तो सुकै कदम चाल्नसमेत तयार रहेको जनाएको छ। 

सम्बादसँगै एकअर्का देशका अधिकारी माथि प्रतिवन्द

वासिङ्टनसँग संवादको खोजी गरिरहेको बेइजिङलाई पछिल्लो समय वासिङ्टनले खोप सहायता प्रदान गर्ने घोषणा गरेको थियो। तर, अर्कोतर्फ मानव अधिकारको संवादमा एक अर्का देशका अधिकारीमाथि प्रतिबन्धलगायका छन्। 

शुक्रबार मात्र चीनले अमेरिकी अधिकारी माइस्ल काओचुन यु र टोड स्टेनमाथि प्रतिबन्ध लगाएको थियो। माइल्स पूर्वविदेशमन्त्री माइक पोम्पेओका चीन सम्बन्धी प्रमुख नीति सल्लाहकार हुन् भने स्टेन चीन सम्बन्धी संसदीय आयोगका उपनिर्देशक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell