PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै फैलियो दुर्गन्ध



रासस

नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै फैलियो दुर्गन्ध
फाइल फोटो।

ढोरपाटन : बागलुङको जैमिनी नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ। नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहोर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी-१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ।

कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडक छेउमै फोहोर फालिएको छ भने प्लाष्टिक र बोटल जलाउँदा त्यहाँदेखि माथि रहेका बस्तीका मानिस प्रदूषित धुँवाले हैरानी खेप्न बाध्य भएका छन्। प्लाष्टिक र बोटलबाट निस्कने धुवाँ मानिसको स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ।

जैमिनी-१ कुश्मीसेराका स्थानीय शोभाखर शर्माले फोहोर व्यवस्थापनको माग गर्दै नगरपालिकामा २३ बुँदे मागपत्र बुझाए पनि त्यसको सुनुवाइ नभएको बताए। उनले भने, ‘कुस्मीशेराको फोहोर जति सबै जथाभावीरुपमा ठेउले खोलामा फालिएको छ, सडक छेउमा पनि सर्वत्र छरिएको छ, फोहोर व्यवस्थापनमा तत्काल ध्यान नदिए यहाँ थप जटिलता निम्तिन सक्छ, नगरपालिका यसप्रति उदासिन बनेको छ।’

साँघुरो बजारमा भए पनि जनघनत्व बढी हुँदा फोहोर पनि बढीनै हुने गरे र फोहोर व्यवस्थापनमा नगरपालिकाले खासै चासो नदिएको बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीषले गुनासो गरे। उनले बजारवासीले फोहोर व्यवस्थापनमा पटक-पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताए।

‘बजारको फोहोर अव्यवस्थित रुपमा अत्रतत्र छरिएर फालिएको छ, यसको गन्धले वरपर पुग्न पनि सकिँदैन, त्यो नजिकको बस्तीमा त बसी नसक्नुहुन्छ गन्हाएर, फोहोर व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने हो, एउटा निश्चित स्थान बनाउनुपर्ने हो’, श्रीषले भने, ‘कुहिने र नकुहिने सबै एकै ठाउँ छ, सिसा पनि त्यहीँ, छ प्लास्टिक पनि एकै ठाउँ छ।’

उनले फोहोर व्यवस्थापनको विषय महत्वपूर्ण भएको उल्लेख गर्दै दीर्घकालीन समाधान खोजिनुपर्ने बताए। दिनदिनै बजारमा जनसङ्ख्या बढी रहेको र फोहोर पनि बढ्दै गइरहेको उनको भनाइ छ। प्लाष्टिक र बोटल जलाउँदा पर्यावरणमा समेत नराम्रो असर पर्ने स्वास्थ्यकर्मी बताउँछन्।

जैमिनी नगर प्रमुख नरबहादुर पुनले सडक छेउमा नै स्थानीयले फोहोर थुपार्दा दुर्गन्ध फैलिएको बताए। स्थानीयले सही रुपमा फोहोरको व्यवस्थापन नगरी जथाभावी फाल्दा बस्तीमै दुर्गन्ध फैलिन थालेको प्रमुख पुनले बताए। फोहोर व्यवस्थापनका लागि हालसम्म कुनै पनि पहल नभएको उनी बताउँछन्।

‘बजार वरपरका केही ठाउँमा फोहोर अस्तव्यस्तरुपमा फालिएको छ, हामीहरु मर्निङवाक जाँदा पनि देखेका छौँ, त्यसको व्यवस्थापनको लागि खासै छलफल भएको छैन, यस्तो समस्या देखियो, यसको सही व्यवस्थापनमा लागि सबैभन्दा पहिले जग्गा व्यवस्थापन गर्नुभयो, जग्गा व्यवस्थापन गरेर यहाँको फोहोरलाई सो ठाउँमा फ्याक्ने व्यवस्था मिलाउने छौँ,’ नगर प्रमुख पुनले भने।

सडक छेउमा नै फोहोर फालिँदा जैमिनीघाटदेखि कुश्मीसेरा आवतजावत गर्ने यात्रुसमेत दुर्गन्धबाट हैरानी खेप्न बाध्य छन्। जैमिनीको कुश्मीसेरा, दमेक, सर्कुवासम्मका मलामीसमेत हिँड्ने सडक छेउमा फोहोर फालिँदा सरुवा रोगको प्रकोप बढ्न सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन्। कुश्मीसेरामा हप्तामा एक पटक फोहोर सङ्कलन गरिन्छ भने सङ्कलित फोहोरलाई सडकको छेउमा फाल्ने र जलाइने गरिन्छ।

फोहोर सङ्कलन गर्ने र फाल्ने जिम्मा जैमिनी नगरपालिका-१ कुश्मीसेराका मिलन थापाले लिएका छन्। पालिकाको बोलपत्र आह्वान पश्चात् आफूहरुले हप्तामा एक पटक फोहोर फाल्ने गरी पालिकासँग सम्झौता गरेको थापाले बताए। स्थानीयवासी थापाले फोहोर फाल्ने ठाउँ व्यवस्थित बनाइदिन पालिकालाई आग्रह गरे पनि वास्ता नगरेको बताए।

‘बजारको फोहोर उठाउने जिम्मा त लियौँ तर ठाउँ पाएनौँ, प्रशासकीय अधिकृतलाई फोहोर फाल्ने ठाउँ व्यवस्थित गराइदिन भनेका थियौँ तर उहाँहरुले जग्गा व्यवस्थापन नगरिदिँदा फोहोर बाटोको छेउमा नै फाल्नुपरेको छ,’ उनले भने। पालिकाले फोहोर सङ्कलन गर्ने मेसिनसमेत मर्मत नगरिदिँदा आफूहरुलाई समस्या भएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell