काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सरकारमा सहभागी भएकोप्रति केन्द्रीय सदस्य गणेश कार्कीले असहमति जनाएका छन्। कार्कीले सोमवार असहमति पत्र जारी गरेका हुन्।
पछिल्लो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा औपचारिक रुपमा सांसदको सरकार बनाउने/ढाल्ने भन्दा अन्य धेरै जनमुखी कामहरु हुने र तिनलाई प्राथमिकता दिनुपर्ने आफ्नो धारणाले फरक नपारेको उनले बताए।
उनले भने, ‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएछ, समाचारहरुबाट थाहा पाएँ। चुनाव अगाडिका हाम्रा रणनीति, हामीबाट सार्वजनिक भएका विचार र व्यक्तव्यहरु, हाम्रा वाचापत्र सम्झना भयो।’
सत्तास्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर आमनागरिकहरुको निराश मनस्थितिमा आफूहरु अलग रहेको भनेर मत मागेका उनले सम्झना गरे। कार्कीले चुनावको परिणाम आउँदै गर्दा हतार हतारमा उनीहरु जस्तै छौँ भन्न ‘आफ्नै कान किन आफैले चिर्न थाल्यौँ?’ भन्दै प्रश्न गरे।
आफूहरुले समर्थन नगरेको भए प्रधानमन्त्री चयन गर्नै नसकि तत्कालै निर्वाचनमा जानु पर्ने र त्यसले राष्ट्रिय खर्चमा भार बढाउने अवस्था पनि नरहेको उनले बताए।
उनले भने, ‘हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि ‘प्रचण्ड भन्दा पहिले बालकोट पुग्ने हतारो’ किन गर्यौँ? यसको जवाफ मसँग छैन।’
उनले वाचापत्रमा फाइल खोल्ने भनेर लेखिएका मुद्दाहरु अब के हुन्छ भनेर प्रश्न समेत गरे।
‘ललिता निवास सरकारी जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन खरिद काण्ड, यति र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड रुपैयाँ काण्ड लगायतका काण्डहरु अब के हुन्छन्? हामीले दस्तावेजमा गरेको गत ५ वर्षको राजनीतिक समीक्षा केवल मतदातालाई झुक्याउने प्रपञ्च मात्रै थियो कि के थियो? त्यसमा संलग्न भनेर विवादित रहेका व्यक्तिहरुकै सहभागितामा यी काण्डहरुको निष्पक्ष छानविन हुन सम्भव होला?’ उनले प्रश्न गरे।