PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

शाहीदीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा फार वेस्टको पहिलो जित, काठमाडौँ ४ विकेटले पराजित



पहिलोपोस्ट

शाहीदीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा फार वेस्टको पहिलो जित, काठमाडौँ ४ विकेटले पराजित
Photo: CAN

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा फार वेस्ट युनाइटेडले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा फार वेस्ट युनाइटेडले हसमतुल्ला शाहीदीको अलराउण्ड प्रदर्शनको सहायतामा काठमाडौँमाथि ४ विकेटको जित निकालेको हो। उनले ब्याटिङतर्फ अविजित अर्धशतकीय पारि खेल्दा बलिङतर्फ २ विकेट लिँदै प्लेयरअफदी म्याच बने।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौँले कमजोर ब्याटिङ गर्दै ९ विकेट गुमाएर ९८ रनमा समेटिएको थियो। काठमाडौँका लागि एलेक्स ब्लेकले सर्वाधिक ४५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १३ तथा सन्तोष कार्कीले १२ रन बनाएका थिए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

काठमाडौँलाई सामान्य लक्ष्यमा समेट्न फारवेस्टका उमैर अलीले सर्वाधिक ३ विकेट लिँदा हसमतुल्ला शाहिदी र भुवन कार्कीले समान २ विकेट तथा शेर मल्लले १ विकेट लिए।

९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको फारवेस्ट युनाइटेडले १९.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। युनाइटेडका लागि हसमतुल्ला शाहिदीले सर्वाधिक अविजित ५० रन बनाउँदा देव खनालले १७ तथा भीम सार्कीले ११ रन बनाए। बलिङतर्फ कसिलो बलिङ गरेका अनिल खरेलले ४ ओभरमा एक मेडन राख्दै १० रन दिएर २ विकेट लिँदा अजमतुल्लाह ओमरजाइ, रायन बर्ल, बसीर अहमेद र अविनास बोहोराले समान १ विकेट लिए।

जारी प्रतियोगितामा समान दुई खेल खेल्दा काठमाडौं नाइट्सको यो पहिलो हार हो भने फारवेस्ट युनाइटेडको पहिलो जित हो। आजै हुने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र जनकपुर रोयल्स भिड्दैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell