
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापति शेरबहादुर देउवाबाट अपमानित भएर पोखरा आएको बताएका छन्। समोवार पोखरामा आयोजित साहित्य महोत्समा थापाले यस्तो बताएका हुन्।
सत्ता गठबन्धनको निर्णयका लागि आफ्नो पार्टीभित्र छलफल हुन्छ भनेपछि आफू टिकट सार्दै बसेको तर सभापति देउवाबाट फोन नै नआएको थापाले गुनासो गरे। ‘म सभापतिको कल कुरेर बसेको। मैले समाचारमा के पढे भने मेरो सभापतिले पार्टीसँग छलफल गर्छ। त्यसपछि गठबन्धनको छलफलमा अन्तिम निर्णय गर्छु। त्यो पार्टीभित्र म पनि पर्छु। अनिवार्य पर्छु। त्यसकारणले मैले बेलुकाको सत्र छुट्छजस्तो लागेको थियो,’ महामन्त्री थापाले भने, ‘अब पार्टी कार्यालयभित्र छलफल हैन। निवासमा भएको छ। निवास घर हो। तर पनि म पर्छु बोलाइनेमा भनेर टिकट सार्दैसार्दै बसेको। एकप्रकारले भन्दा म अपमानित भएर आएको हो यहाँ।‘
कांग्रेसले पहिलो दल भएर पनि सत्ता गुमाउँदा नागपासमा ९९ मा पुगेर झरेको जस्तै भएको थापाको भनाई थियो। ‘नागपासमा ९९ पुगेर झरेको जस्तो भयो,’ उनले भने। थापाले कांग्रेसलाई पुन उचाईमा लानेसमेत बताए। ‘देशैभरिको साथीहरुलाई मेरो भन्नु हारजितको कुरा सकियो। यसलाई फेरि उठाइन्छ,’ थापाले भने।