PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

भलिबलमा नेपाल लगातार पाँच खेलमा पराजित, प्रशिक्षक भट्ट भन्छन् : कहिलेकाहीँ भाग्यले पनि साथ दिँदैन



पहिलोपोस्ट

भलिबलमा नेपाल लगातार पाँच खेलमा पराजित, प्रशिक्षक भट्ट भन्छन् : कहिलेकाहीँ भाग्यले पनि साथ दिँदैन
Photo: NSJF

काठमाडौं : नेपाली राष्ट्रिय यू-२३ भलिबल टोली बंगबन्धु एसियन सेन्ट्रल जोन यू-२३ अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप प्रतियोगितामा जितविहीन बनेको छ। बंगालादेशको ढाकामा जारी प्रतियोगितामा तेस्रो स्थानका लागि आज भएको खेलमा श्रीलंकासँग पराजय ब्यहोरेर नेपालले चौथो बनेको छ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरि चार टोलीको सहभागिता छ। लिग चरणपछि चारवटै टोलीले सेमिफाइनल खेलेका थिए। लिग चरणका तीन खेलमा हार ब्यहोरेको नेपालले सेमिफाइनलमा बंगलादेशसँग हार ब्यहोरेको थियो। त्यस्तै तेस्रो स्थानका लागि आज सम्पन्न श्रीलंकासँगको खेलमा ३-२ को सेटमा पराजय ब्यहोरेसँगै लगातार पाँच खेलमा पराजय ब्यहोरेको नेपाल अन्तिम बनेको हो।

प्रतियोगितामा जितविहीन बनेपछि नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताबाट खेलाडीले राम्रो अनुभव बटुलेको बताएका छन्।

'हामी प्रतियोगिताको उपाधि जित्न भन्दा पनि अनुभव बढाउन आएका थियौँ। उमेर समूहको तयारी बिना समग्र भलिबलको विकास हुँदैन भन्ने परिकल्पना अनुसार यहाँ सहभागिता जनाउँदा यहाँ जस्तो प्रदर्शन हामीले गरेका छौँ, त्यो धेरै नै राम्रो छ,' उनले भने, 'अनुभवको कमीले हामीले म्याच हारेका छौँ। हामीले धेरै ट्रेनिङ गर्न र धेरै टिमसँग खेल्न पाएनौँ।'

उनले अगाडि भने : यो प्रतियोगिताको सबल पक्ष भनेको चारवटा टिम हुँदा पनि पाँचवटा खेल खेल्न पायौं। यो पाँचवटाको अनुभव नै हाम्रो लागि धेरै राम्रो भएको छ भन्ने मलाई लाग्छ।

आज सम्पन्न खेलको पहिलो सेट २५-२२ ले जितेको नेपालले दोस्रो सेट २५-१९ ले गुमाएको थियो। त्यस्तै तेस्रो सेट २५-१९ श्रीलंकाले नै जित्दा चौथो सेटमा नेपालले २५-२० ले जितेको थियो। निर्णायक पाँचौ सेटमा १५-१० ले श्रीलंकाले जितेसँगै नेपाल जितविहीन बन्दै बाहिरिएको हो।

आजको खेलमा भने राम्रो प्रदर्शन गरेको भए पनि भाग्यले पनि साथ नदिएको भट्टको भनाइ थियो। उनले प्रतियोगितामा देखिएका कमजोरीलाई अब प्रशिक्षणमा औल्याएर सुधार्दै लैजाने प्रतिबद्धता जनाए।

'आजको खेलमा जित्छौँ कि भन्ने लागेको थियो तर पाँचौ सेटमा विपक्षीको सर्भिस राम्रो हुँदा खेल्दा जित निकाल्न सकेनौं। हामीले हार्ने मुख्य कारण भनेको हाम्रो ग्लोभ कमजोर छ जसको कारण हाम्रो सर्भिस पनि कमजोर छ,' उनले भने, 'हामी यो प्रतियोगितामा भएका त्रुटिहरुलाई प्रशिक्षणमा सच्याउँदै लैजाने हो। कमीकमजोरीलाई अनुभवबाट कम गर्दै लैजाने हो।'

भट्टले आजको खेलमा जित निकालेर मेडल जित्ने लक्ष्य रहेको भए पनि त्यसमा सफल हुन नसक्दा दु:ख लागेको बताए।

'आज तेस्रो मेडल जसरी पनि ल्याउनुपर्छ भन्ने मनोविज्ञानका साथ आएर हामीले २ सेटमा पराजित भइसक्दा पनि फेरि गेममा फेरि कमब्याक गरेर चौथो सेट जितेर पाँचौ सेट लिड गरेर पनि पराजय ब्यहोर्‍यौँ,' उनले भने, 'यसमा दु:ख लागेको छ। कहिलेकाहीँ भाग्यले पनि साथ दिँदैन। प्रयास गर्दागर्दै कहिलेकाही यो म्याच हारेका छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell