
जनकपुरधाम : मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पुस १५ गते पद तथा गोपनियताको सपथ लिने भएका छन्।
सोमबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले पुस १५ गते दिउँसो २ बजे सपथ ग्रहणका लागि समय निर्धारण गरेको प्रदेशसभा सचिवालयका सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए।
सपथग्रहणका लागि दुई घण्टा अगावै निर्वाचित प्रदेशसभा सदस्यहरु राष्ट्रिय पोशाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन सचिवालयले अनुरोध गरेको छ। यस्तै, आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिन अगावै प्रदेशसभा सचिवालयमा जानकारी गराउनु पर्ने जनाइएको छ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोबिन्द बहादुर न्यौपानेले सांसदहरुलाई सपथग्रहण गराउने प्रदेशसभा सचिवालयले जनाएको छ ।