
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको बताएका छन्। एमालेलगायत सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि कोइरालाले आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
नेपालको पछिल्लो परिवर्तित राजनीतिप्रति कांग्रेस नेता दृष्टिकोण सार्वजनिक गर्दै कोइरालाले प्रचण्डलाई बधाईसमेत दिएका छन्। ‘संविधानसभावाट जारी संविधान अन्तर्गत मुलुकमा दोस्रो आम निर्वाचनको माध्यमबाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाललाई पाएको छ। सर्वप्रथम संसदको तेश्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाई नियुक्त हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु,’ शेखरले भनेका छन्।
नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अनपेक्षित भन्दै शेखरले यो अराजकताको पराकाष्ठ भएको उल्लेख गरेका छन्। ‘संसदबाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन। संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ,’ शेखरले भनेका छन्।
उनले संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन भन्ने प्रश्न गम्भीर रूपमा अगाडि आएकोसमेत बताएका छन्। यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुकलगायत सबै आम नेपालीमाझ नेतृत्वले दिनुपर्ने उनको भनाई छ।
डा शेखरले पार्टीभित्र माओवादीको शंकास्पद भूमिकामाथि प्रश्न उठ्दा नेतृत्वले महत्वहीन भन्दै पन्छ्याउँदा यस्तो अवस्था आएकोसमेत दाबी गरेका छन्। ‘कांग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको थियो। राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानियो,’ उनले भनेका छन्।
गठबन्धनकै कारण कैयन कांग्रेसीको राजनीतिक जीवन समाप्त भएको उल्लेख गर्दै डा शेखरले यसबाट शिक्षा लिन सक्नुपर्ने बताए। ‘गठबन्धनको प्रकरणमा कैयन् कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौँ। विगत एक बर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घट्यो,’ उनले भनेका छन्, ‘यो निसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसवाट शिक्षा लिन सक्नुपर्छ।‘
कांग्रेसले आफ्नो पार्टनर मानेको माओवादीको राजनीतिक चरित्र फेरि उदाङ्गिएको उनले बताए। ‘कांग्रेस संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको छ। गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ,’ उनले भनेका छन्, ‘हामीबीच रहेको सिद्धान्त भन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ। अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, उर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन।‘
कांग्रेसले सबै गुमाउने अवस्था आए पनि निराश हुनुपर्ने कारण नरहेको उनको भनाई रहेको छ। ‘साथीहरूमा तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन। साथीहरु निरास हुनुपर्ने कुनै कारण छैन,’ उनले भनेका छन्, ‘हामी निरन्तर संवाद र सम्पर्कमा रहदै तपाईहरुको घर आँगनमा आउने छौँ। किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौँ।‘
डा शेखरले सत्ता गुम्दैमा कांग्रेस कमजोर नुहनेसमेत बताएका छन्। ‘कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ। कांग्रेस केन्द्रदेखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ। यसबाट हामी निराश हुने छैनौँ। यहाँवाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ। पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ। जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन,’ उनले भनेका छन्, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन। हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गछौँ।‘