__.jpg)
काठमाडौं: चलचित्र विकास बोर्डले पछिल्लो पाँच महिनामा ५६ वटा फिल्मलाई निर्माणका लागि इजाजत दिएको छ। आर्थिक वर्ष २०७९/८० साउन महिनादेखि हालसम्म ५६ वटा फिल्मले निर्माणका लागि बोर्डबाट इजाजत लिएका हुन्।
इजाजत लिएका केही फिल्महरुले भने समयसीमा सकिएका कारण पुन: नयाँ प्रक्रियाबाट इजाजत लिएका हुन्। ३ वर्षसम्म फिल्म प्रदर्शनमा नआए पुनः इजाजत लिनुपर्ने प्रावधान छ। जसमा ‘पानी फोटो’, ‘प्रेम गीत ३’ ‘हुतुतु’, ‘हिजो आजका कुरा’, ‘झिँगेदाउ’, ‘डामाडोल’, ‘द्रोपती’, ‘यो कस्तो माया’ ,‘सम्हालिन्छ कहिले मन’ र ‘डेसान’ छन्। ‘पानीफोटो’, ‘प्रेमगीत ३’, ‘सम्हालिन्छ कहिले मन’, ‘हिजो आजका कुरा’, ‘झिँगेदाउ’, ‘डेसान’ भने रिलिज भइसकेका छन्।
कोरोना कहर कम भएसँगै साउन यता नेपाली फिल्म निर्माणको संख्या बढेको हो। बोर्डको विवरणमध्ये ७ फिल्म मात्रै रिलिज हुँदा केही फिल्म प्रदर्शनको तयारीमा छन्। केहीले छायाङ्कन समेत सुरु गर्न सकेका छैनन्।
यसै वर्ष इजाजत लिने फिल्ममध्ये ‘चि मुसी चिः इभन डेड डिजायर बिलडिङ्ग’ पुसको २२ गतेबाट प्रदर्शनमा आउँदैछ। त्यसैगरि, अनमोल केसी अभिनित फिल्म ‘२.० छड्के’ र दीपकराज गिरीको ‘छक्का पञ्जा ४’ ले फागुन १९ गतेका लागि प्रदर्शन मिति तय गरिसकेका छन्।
त्यसैगरि, इजाजत लिएर पनि छायाङ्कन नै सुरु नगरेका फिल्मको सुचिमा सन्तोष सेनकै फिल्म ‘हुतुतु’ देखि अनमोलको मुख्य भूमिका हुने फिल्म ‘एक्स ९’, असिम शाहको फिल्म ‘डामाडोल’, दीपेन्द्र के खनालको ‘चंगा चेट’, दयाहाङको अभिनय रहने ‘द रिसोर्ट’ लगायतका फिल्म छन्।