PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बिहानैबाट ठुस्स प्रचण्ड सिंहदरबार पुगेपछि खुले एकाएक



प्रकाश भण्डारी

बिहानैबाट ठुस्स प्रचण्ड सिंहदरबार पुगेपछि खुले एकाएक

काठमाडौं : प्रधानमन्त्रीमा शपथ लिनुअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहकार्य थियो - ककसलाई मन्त्री बनाउने? बिहान पार्टी कार्यालय पेरिसडाँडाँमा र दिउँसो बानेश्वरमा प्रचण्डलाई उस्तै सकस पर्‍यो। पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई मात्रै प्रचण्डलाई मन्त्रीका लागि फाइनल गर्न सके सोमवार। श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन्।

बानेश्वरको नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र जनमत पार्टीको छलफलबाट प्रचण्डले ७ जनाको नाम टुंगो लगाए। ७ जनाले नै शपथ लिए पनि तीन जना उपप्रधानमन्त्रीको मन्त्रालयको टुंगो लागेको छ भने बाँकी ४ जना मन्त्री जीम्मेवार विहीन छन्। सत्ता गठबन्धनमा क - कसलाई मन्त्री बनाउने? कसलाई कति सिट दिने भन्नेबारेमा अन्तिम टुंगो लाग्न सकेको छैन।

माओवादी पदाधिकारी बैठकपछि बधाई ग्रहण गर्ने क्रममा प्रचण्ड।


मन्त्री छान्न सकस

प्रचण्डलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(२) अनुसार आइतवार नै प्रधानमन्त्री नियुक्त गरे पनि उनलाई मन्त्रीको नाम टुंगो लगाउन भने सकस नै पर्‍यो। पार्टी कार्यालयमा पार्टीका नेताहरुमध्ये नारायणकाजीलाई मात्रै मन्त्री छान्न पुगेका प्रचण्डलाई बानेश्वरमा भने साढे ३ घण्टा छलफल गर्नुपरेको थियो। उक्त छलफलमा पनि राप्रपाले सरकारमा नजाने बताएको छ भने नागरिक उन्मुक्ति पार्टी पनि समर्थनमात्रै गर्ने निचोड निकालेको छ। हिजैदेखि ककसलाई मन्त्री बनाउने भन्ने गृहकार्य आइतवारसम्म पनि पुरा हुन सकेन। प्रचण्डले आफूसहित ८ जनाको मन्त्रिपरिषद गठन गर्दा अब १७ जनाका लागि खाली राखेका छन्। संविधानअनुसार २५ जनामात्र मन्त्री बन्न पाइन्छ।

रविलाई रोजेकै, नारायणकाजीले चित्त बुझाए भौतिक पूर्वाधारमा

एमालेका विष्णु पौडेल, रास्वपाका रवि लामिछाने र माओवादी केन्द्रका नारायणकाजी उपप्रधानमन्त्री बनेका छन्। अर्थ वा परराष्ट्र मध्य एउटामा दाबी गरेका नारायणकाजीले रोजेको मन्त्रालय पाएनन्। बरु रविले दाबी गरेअनुसारै उपप्रधान सहित गृह मन्त्रालय पाएका छन्। त्यसो त सिके राउतको पार्टी जनमतले पनि खोजेको मन्त्रालय हालसम्म पाएको छैन।

राउतको पार्टीले कृषि मन्त्रालयमा दाबी गरेको थियो। 'हाम्रो दाबी पहिलेदेखि नै कृषि मन्त्रालयमा छ,' बानेश्वरको छलफलमा छिर्नुअघि भनेका थिए। जनमतबाट अब्दुल खान मन्त्री भए पनि मन्त्रालयको टुंगो भने लागेको छैन। एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि रोजेकै मन्त्रालय अर्थ मन्त्रालय पाएका छन्। एमालेकै दामोदर भण्डारी र ज्वालाकुमारी साहले मन्त्रीको शपथ लिए पनि मन्त्रालयको भने टुंगो लागेको छैन।

किन पुगेका थिए बाबुराम?

राजनीतिक रुपमा माओवादी केन्द्रको कित्तामा उभिएका नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराई पनि मिसिएका थिए बानेश्वरको छलफलमा। बानेश्वरको छलफलमा बाबुराम भट्टराई पुग्नुको कारण बाबुरामका नेतालाई मन्त्री बनाउनका लागि भने थिएन।

त्यसैले पनि छलफल नसकिदै निस्किए। गठबन्धन तोडेर एमाले-माओवादी गठबन्धनबाट प्रधानमन्त्री बने पनि बाबुराम खुसी छन्। उक्त खुसी र प्रचण्डलाई भेटेरै बधाई दिन बाबुराम बानश्वर पुगेका थिए। 'एकदम राम्रो सरकार बनेको छ। बाँकी कुरा थाहा पाइहाल्नु हुन्छ,' बाहिरिँदै गर्दा बाबुरामले भने।

शपथमा माइक नै खराब

बानेश्वरको छलफल सकिएपछि सत्ता गठबन्धनका नेता/कार्यकर्ता राष्ट्रपति कार्यालय शितल निवासतिर लागे। नयाँ प्रधानमन्त्रीको स्वागत र शपथका लागि झकिझकाउ थियो, राष्ट्रपति कार्यालयको प्रांगण। राष्ट्रपति कार्यालयलाई जति आकर्षक बनाउन खोजे पनि शपथका बेलामा भने माइकमा खराबी देखियो। प्रचण्डले प्रधानमन्त्रीको शपथ लिँदा कतिबेला झ्यर्‍र गर्थ्यो भने कुनै बेला ट्यारङटुरुङ। प्रचण्डको बेला मात्रै होइन ३ जना उपप्रधानमन्त्रीको सपथ लिनेबेला पनि त्यस्तै भयो। 

ज्वालाकुमारीको एक्लै शपथ

एमालेका दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमतका अब्दुल खानले एक साथ शपथ लिएका थिए। प्रचण्डले शपथ लिदैं बिग्रिएको माइक अरु मन्त्रीको बेला पनि ठीकठाक हुने कुरै थिएन। तीन जनालाई एक साथ शपथ ग्रहण गराउँदा ज्वाला कुमारी शाह भने छुटिन्। ज्वाला कुमारीलाई भण्डारीले एक्लै शपथ गराएकी थिइन। ज्वालाकुमारीले शपथ लिएको माइक भने राम्ररी नै चलेको थियो। ज्वालाकुमारी तिनै सांसद हुन् नेकपा विवादका बेलामा उनी माओवादी केन्द्र छाडेर एमालेमा लागिन्। त्यतिबेला मधेश प्रदेश सभा सदस्य रहेकी साहलाई माओवादी केन्द्रले कारवाही गरेको थियो। तिनै साह फेरि प्रचण्डको मन्त्रिपरिषदमा सहभागी भएकी छिन्।

देउवा-प्रचण्डको खासखुसको अर्थ के?

प्रचण्डकै छेउमा बसेका निर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा खुसी हुने कुरै थिएन। आइतवार बिहानसम्म आफैसँग रहेका प्रचण्ड दिउँसो ओलीको साथमा पुगेर प्रचण्ड प्रधानमन्त्री बनेका थिए। बालुवाटारबाट आइतवार छुटेपछि प्रचण्ड-देउवा शितल निवासमा भेटिएका थिए। शपथ अघि उनीहरुबिच केहि खासखुस भने भयो। तर दुबै जना हँसिलो भने देखिएनन्।

देउवाको अनुहारमा जति निराशा देखिन्थ्यो त्योभन्दा बढी निराशा प्रचण्डमा झल्कन्थ्यो। हुन त बिहान पेरिसडाँडामा भएको पदाधिकारी बैठकबाट निस्कँदा प्रचण्डको अनुहारमा चमकधमक हराइसकेको जस्तो देखिन्थ्यो। प्रचण्डको शपथ अघि नै आइपुगेका देउवा मन्त्रीहरुको शपथ ग्रहण पूरा नहुँदै निस्किए। राजनीतिक संस्कारका लागि मात्रै शितल निवास पुगेका देउवा प्रचण्डसँग कति आक्रोशित थिए भने देउवा बिचबाटै निस्कनुले पनि पुष्टि गर्थ्यो। प्रचण्डले सपथ लिएपछि हात मिलाएर बधाई दिएका देउवाले आफ्नो कूर्सीमा प्रचण्डलाई राखेर शितल निवासबाट निस्किएका थिए।

दौरा-सुरुवालमा सजिएका प्रचण्ड

यसअघि दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले कोट पाइन्टमै प्रधानमन्त्रीको शपथ लिन गरेका थिए। तर आइतवार शितल निवासमा प्रचण्ड दाउरा सुरुवालमा देखिए। दउरा सुरुवालमा शपथ लिएका प्रचण्ड मन्त्रीहरुको शपथपछि भने मञ्चमा एक्लै थिए। राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना निस्किएपछि प्रचण्ड एक्लै परेका हुन्। प्रचण्डको परिवारले त्यसपछि प्रचण्डसँग फोटो सेसन गरेको थियो। ओलीले बधाई दिएपछि दुबै जनाले हात हल्लाएका थिए जसरी आइतवार प्रधानमन्त्री बन्ने सहमति भएपछि ओली निवासमा प्रचण्ड-ओलीले हात हल्लाएका थिए।

निराश माधव, खुसी ओली

नेकपा विवादपछि सबैभन्दा प्रचण्डको नजिक भएर राजनीतिक सहकार्य गर्ने नेता हुन् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। तर आइतवारको प्रचण्डको यु टर्नलाई भने एकीकृत समाजवादीले धोकाकै रुपमा बुझेको छ। अध्यक्ष नेपाल पनि खुसी छैनन् प्रचण्डसँग। किनभने शितल निवासको सपथ ग्रहणमा पनि नेपाल हाँसेनन्। अरु बेलामा प्रचण्डसँग बस्दा प्रफुल्ल देखिने नेपाल शपथ ग्रहणको अवधिभर भने निरास देखिए। ओलीसँग छुँट्टिदा प्रचण्ड-नेपाल एक कित्तामा उभिए भने अहिले नेपाललाई छोडेर प्रचण्ड फेरि ओलीको कित्तामा पुगेका छन्।

जसकारण पनि हुनुपर्छ नेपाल निरास देखिरहेका छन्। यसरी निराश हुनेमा नेपाल मात्रै होइन जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष सिके राउत पनि हुन्। राउतले यादवलाई हराएर अहिले सत्ता गठबन्धनमा छन्। राउतको निराशा आइतवार साझै सामाजिक सञ्जालमा व्यक्त भइसकेको छ। यादव पनि बानेश्वरको छलफलदेखि शितल निवासमा पनि निरास देखिए।

सिंहदरबारमा इन्ट्री हुँदा खुल्यो चेहरा

प्रधानमन्त्रीमा शपथ लिनसाथ प्रचण्ड पुगे कीर्तिपुर। कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेपछि सिंहदरबारमा इन्ट्री हाने। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पस्दा भने प्रचण्डको चेहरा उज्यालो देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell