PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'बाटै रवि लामिछानेको इन्ट्री: काँचको पर्दाको उचाई कायमै होला कि लाग्ला ओरालो यात्रा



सविन ढकाल

'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'बाटै रवि लामिछानेको इन्ट्री: काँचको पर्दाको उचाई कायमै होला कि लाग्ला ओरालो यात्रा

काठमाडौं: चुनावी परिणाम जस्तै अप्रत्यासित रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी हात पारेका छन्। टेलिभिजन कार्यक्रमबाट बटुलेको चर्चालाई राजनीतिमार्फत् 'क्यास' गरेका लामिछानेका लागि गृह मन्त्रालयको जिम्मेवारी आफैँमा एउटा 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट'को बलियो उदाहरण बन्दैछ। प्रहरीले रविको नागरिकता र राहदानी छानबिन गरिरहेका बेला सोही मन्त्रालयको कमान्ड उनले सम्हालेका हुन्। गृहको जिम्मेवारी उनी सामु उत्तिकै चुनौतीपूर्ण रुपमा रहनेछ। ओझेलमा परेका विषयलाई टेलिभिजनमा उठाएर जनमत बटुलेका रविले गृहको चुनौतीलाई कसरी लिन्छन् हेर्न बाँकी छ। टेलिभिजनको फेम र सत्ताको भ्रम दुवै दृष्टिकोणबाट आजैदेखि रविको दिनगन्ती सुरु भइसकेको छ। 

गृह मन्त्रालय सम्हालेपछि देशको शान्ति सुरक्षादेखि प्रहरी प्रशासनसम्मको विषयले रविलाई व्यस्त बनाउने नै छ। त्यसभन्दा ठूलो मुद्दा हो - उनकै नागरिकता र राहदानी विवाद। यी दुवै विषयको अनुसन्धान गर्ने मन्त्रालय - गृह नै हो। अब उनले आफूमाथि लागेको आरोपको अनुसन्धान आफैँले सम्हालेको मन्त्रालयबाट कसरी गर्लान्? अथवा आफ्नो मुद्दा निस्तेज बनाउनकै लागि उनले गृहमाथि दावेदारी पेश गरेका त होइनन्? उनको विषयमाथि गृह मन्त्रालयको छानबिन कसरी अगाडि बढ्छ, त्यसले यी प्रश्नको जवाफ दिने नै छ। नैतिकता र आदर्श राजनीति भट्याएर स्थापित उनी पहिलो निर्णयमा नै चुकेका छन्। आफू जोडिएको मुद्दा प्रभावित हुने विभागीय जिम्मेवारीबाट उनी टाढा हुन सक्नुपर्थ्यो। टेलिभिजनमा सत्ता र शक्तिको खिलाफमा जस्ता आक्रोश उनले पस्किए यस्तै निगरानी अब उनीमाथि हुनेछ -विशेषतः उनकै मुद्दालाई लिएर।

आफूलाई चर्चित बनाउन कतिपय मुद्दालाई रविले टेलिभिजनमा उठाए तर सही दिशा डोहोर्‍याउन सकेनन्। टेलिभिजनमा ती मुद्दा उठाउँदा उनले औँलो गृह मन्त्रालयतिर तेर्स्याइरहे। तिनै मध्येको एउटा चर्चित मुद्दा हो निर्मला पन्तको हत्या। निर्मलाको हत्या भएको पाँच वर्ष पुग्न लाग्दा पनि यस मुद्दाले पूर्णविराम पाउन सकेको छैन। र,रविले जस्तै बारम्बार आम नागरिकले प्रश्न पठाइरहेका छन् - निर्मला पन्तको हत्यारा को हो? निर्मलालाई न्याय कहिले?

२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका -२ खोल्टीकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। टेलिभिजनको पर्दाबाट रविले सरकार र प्रहरी प्रशासनलाई प्रश्न गरिरहेका थिए यसै विषयलाई लिएर। अब त्यही प्रश्न रविले फेस गर्दैछन्। निर्मला पन्तको हत्यारा खोइ? सोझो हिसाबमा पनि निर्मला प्रकरण रविका लागि फलामको चिउरा चपाउनुसरह छ। निर्मला प्रकरणको अनुसन्धान यसरी गिजोलिएको छ कि अब त्यसलाई उनले कसरी सुल्ट्याउँछन् भन्नेमा सबैको नजर रहनेछ। टेलिभिजनका च्यानलमा हत्यारा खोई भन्दै प्रश्न गर्ने रविसामु त्यही प्रश्न सोझिने छ बारम्बार- निर्मलाको हत्यारा खोइ?

आज पदभार ग्रहणपछि उनले आफ्नो पहिलो निर्णय नै निर्मला  प्रकरणको अनुसन्धानलाई बनाएका छन्। तर यो सजिलो बिषय भने कदापि पनि छैन। धेरै घटना क्रम बुनिदा यो प्रकरणको फेरो कसिलो बनेको हो।

टेलिभिजन कार्यक्रममार्फत् रवि लामिछानेले आफूलाई मुलुककै स्वच्छ छविको व्यक्तित्वका रुपमा प्रस्तुत गरेका छन्। भलै उनीसँग काण्ड नजोडिएका होइनन्। अमेरिकादेखि नेपालसम्मै उनी जोडिएका विवाद कम छैनन्। टेलिभिजनबाट अरुमाथि चोर औँला तेर्स्याइरहँदा उनी जसरी 'चोखा' देखिएका छन् अबको स्थिति त्यस्तै रहिरहने छैन। विपक्षी बन्नु र सत्तामा रहनु एकै हुने छैन।

टेलिभिजनमा आफैँले निर्माण गरेको आफ्नो चरित्रका कारण सबैतिर प्रभावित पार्न सक्ने उनको क्षमताका कारण शालीकराम पुडासैनी प्रकरण उनका लागि राजनीतिक जग बनेको थियो। त्यही जगमा उनले चितवनबाट वैकल्पिक राजनीतिको बाटो लिए। प्रचण्डलाई चितवनबाट गोरखा भाग्न बाध्य बनाए। र, फेरि तिनै प्रचण्डको नेतृत्वमा सत्तामा पनि उक्लिए। यसले पनि रवि नेपाली राजनीतिमा अर्का परम्परावादी राजनीतिक दलका एक र अर्का नेतामा रुपान्तरित भएका त होइनन्? संशय गर्ने ठाउँ तयार भइसकेको छ। राजनीतिलाई अवसरका रुपमा उपयोग गर्ने नेपाली समाजको चरित्रलाई उनले ठ्याक्कै समातेका छन्। 

उनले काम गरेर देखाउन सके भने काँचको पर्दाले बनाएको उचाई यथावत रहने नै छ। गृह मन्त्रालय नै रोज्नु र आफैँ जुन 'कन्ट्रोभर्सी'मा छन् त्यसैलाई न्याय दिनुपर्ने विषय नै उनको आदर्शको घैटो बनेको छ। त्यो घैटो जोगिन्छ वा फुट्छ उनका आगामी दिनका शैलीले देखाउने छ।

त्यसो त समाज रूपान्तरणको मुद्दा उनले सबैभन्दा धेरै उठाएका छन्। त्यसैले आफूमात्र होइन, आफ्नो नेतृत्वको मन्त्रालयलाई चुस्त बनाउनुपर्ने जिम्मेवारी उनीमाथि छ। गृह मन्त्रालय मातहतको प्रहरी सङ्गठन पछिल्लो समय सबैभन्दा धेरै भ्रष्टाचार र राजनीतिक खिचातानीमा पर्दै आएको छ। सिपाहीको सरुवादेखि महानिरीक्षक नियुक्तिसम्म राजनीतिक र आर्थिक चलखेलका घटना हुने गरेका छन्। त्यहाँभित्रको बेथिति सुल्ट्याउने चुनौतीपूर्ण जिम्मेवारी अब उनीसामु छ। अबको केही महिनामा नै प्रहरी सङ्गठनको प्रमुखको चयन हुनेछ। त्यतिखेरको दबाब र प्रभावबाट उनी कति टाढा रहन सक्छन्? संगठन सुधारका सन्दर्भमा रविसामु उक्त क्षण अर्को अग्नि परीक्षाको क्षण हुनेछ।

समग्र सुरक्षासँगै सीमाका विषयमा गृह प्रशासनले नै जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ। अन्तरदेशीय अपराधका विषयदेखि सीमा विवादसम्मका विषयमा गृह मन्त्रालय जोडिन्छ नै। सशस्त्र प्रहरी यही मन्त्रालयको मातहतमा छ। यी सबै मुद्दा टेलिभिजनमा चर्को आवाजले प्रश्न गरेजस्तो सहज रुपमा सुल्टिने विषय होइनन्। रविको परीक्षा यस्ता विषयलाई लिएर पनि हुनेछ।

यति चाहिँ प्रष्ट हो कि हिजोसम्म रवि प्रश्न गर्ने ठाउँमा थिए। आजबाट उनी जवाफ दिनुपर्ने जिम्मेवारीमा पुगिसकेका छन्। प्रश्न गर्न जति सहज हुन्छ त्यसको जवाफ उत्तिकै कठिन। यी सबै भूमिकाबाट रविले आफ्नो इमेज उकास्छन् या यहीँबाट उनको राजनीतिक यात्रा ओरालोतिर लाग्छ भन्न सकिन्न। आफ्नै मुद्दासँग जोडिएको गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नुले उनीमाथि शंका गर्ने ठाउँ दिइसकेको छ। अब त्यो शंकालाई निर्मूल बनाउने जिम्मेवारीमा उनी कति उम्दा भएर उत्रिन्छन्, घन्टी बज्न धेरै समय कुर्नुपर्ने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell