
कैलाली : शनिवार दिउँसो ४ बजे कैलाली प्रहरीले धनगढी बसपार्क नजिकबाट १ हजार दरका ४ नक्कली नोटसहित एक व्यक्ति पक्राउ गर्यो। पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका-६ का लालबहादुर साउद थिए।
साउदलाई पक्राउ गरी अनुसन्धान थाल्दा प्रहरीले नक्कली नोटको कारोबार गर्ने सञ्जाल नै फेला पारेको छ। साउदसहित अन्य ४ जनाको साथबाट कैलाली प्रहरीले १ सय ४२ थान हजारका नक्कली नोट फेला पारेको छ।
पक्राउ पर्नेमा साउदसहित धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँ डेरा गरी बस्ने दार्चुलाका लिलाधर मिश्र, डोटीको शिखर नगरपालिका-१० का करन सिंह धामी, टेकेन्द्र धामी र मोहनसिंह बोहरा रहेका छन्। उनीहरूका साथबाट साढे ५ किलो बाघको हड्डीहरू, विभिन्न बैंक तथा आईएमईका भौचर तथा चेकहरू र जडिबुडीलगायत फेला परेका छन्।
यत्रो परिमाणमा नक्कली नोट कहाँबाट आयो भन्ने विषयमा भने प्रहरी अनविज्ञ छ।