PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

स्पेनका तीन भेट्रान खेलाडी सम्मिलित फुटबल टोली नेपालमा, स्पेन फर्किएर भिड्नेछ रियल मड्रिडसँग



पहिलोपोस्ट

स्पेनका तीन भेट्रान खेलाडी सम्मिलित फुटबल टोली नेपालमा, स्पेन फर्किएर भिड्नेछ रियल मड्रिडसँग
फोटो : twitter.com/CPCacerenoSAD

काठमाडौं : नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्न स्पेनिस फुटबल टिम कासेरेन्यो सिपीको ५० सदस्यीय टोली सोमवार मड्रिडबाट काठमाडौं उत्रेको छ।

टोली कतार एयरको विमानबाट दोहा हुँदै मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। विमानस्थलबाट टोली सोझै पोखराका लागि उड्नेछ।

पोखरा र काठमाडौंमा स्थानीय टिमसँग एक/एक मैत्रीपूर्ण खेल खेल्न आउन लागेको स्पेनिस लिग संरचनाको दोस्रो डिभिजनको टोलीलाई सोमवार मड्रिड विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत डा. सर्मिला पराजुली ढकालले बिदाइ गरिन्।

स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो।

स्पेनिस कोडा डेल रेको अन्तिम ३२ अन्तर्गत जनवरी चारमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको कासेरेन्योले नेपाल भ्रमणमा हुने दुई खेललाई त्यसको अभ्यासका रुपमा प्रयोग गर्ने योजना बनाएको छ।

‘शान्तिका लागि फुटबल’को नाराका साथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यमा हुन लागेको मैत्रीपूर्ण भ्रमणमा कासेरेन्योले गण्डकी ११ र काठमाडौं ११ सँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङ कप्तानीमा रहने गण्डकी ११ को प्रशिक्षणको जिम्मेवारी राजेन्द्र तामाङले पाएका छन्। टोलीमा प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहने बताइएको छ।

यसैगरी काठमाडौं ११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ। काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी हुनेछन् भने टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन्।

कासेरेन्योले बुधवार पोखरा रंगशालामा गण्डकी ११ तथा बिहीवार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।

टोलीमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका तीन खेलाडी रहेका छन्। स्पेनिस लिग संरचनामा दोस्रो डिभिजनको क्लब कासेरेन्योमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो), रुबेन डे ला रेड र युलियो सालिनास रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell