___.jpg)
काठमाडौं : नेपाल चलचित्र संघको चर्को दबावपछि चलचित्र विकास बोर्डले प्रदर्शनसम्बन्धी नियम संशोधन गरेको छ। सोमवार बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा बसेको बैठकले सेन्सरदेखि राति हल सञ्चालन गर्ने नियम संशोधन गरेको हो।
बोर्डमा जाँच सेन्सरका लागि सिफारिस लिन चलचित्र प्रदर्शन हुने मितिभन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियम थियो। सोमवार बसेको बैठकले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ। अब कुनै पनि फिल्मले रिलिजको चार दिनअघि सिफारिस लिनुपर्नेछ।
यसैगरी, बेलुकी ११ बजेपछि चलचित्र प्रदर्शन गर्न चाहने हल सञ्चालकले शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरेर प्रदर्शन गर्न सक्ने निर्णय पनि बोर्डले गरेको छ। साथै प्रदर्शनअघि बोर्डलाई जानकारी गराए हुनेसमेत बताइएको छ।
यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्विकृती लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो।
राति फिल्म प्रदर्शन गर्न नपाइने, एक साताअघि नै फिल्म सेन्सर हुनुपर्ने र विश्वकप फुटबलजस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर चलचित्र संघ आक्रोशित बनेको हो। चलचित्र संघले आन्दोलनको घोषणा गरेपछि नै बोर्डले संघको माग पुरा गरेको हो।