PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

देउवा घर खोज्दै, प्रचण्ड खुमलटारमै बधाई थाप्दै : बालुवाटारमा कहिले हुन्छ नयाँ प्रधानमन्त्रीको इन्ट्री?



प्रकाश भण्डारी

देउवा घर खोज्दै, प्रचण्ड खुमलटारमै बधाई थाप्दै : बालुवाटारमा कहिले हुन्छ नयाँ प्रधानमन्त्रीको इन्ट्री?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतवार नै प्रधानमन्त्री नियुक्त भए। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रचण्ड खुमलटारको निजी निवासमै छन्। आइतवार नयाँ गठबन्धन बनाउन दौडधुपमा रहेका प्रचण्ड सोमवार नयाँ गठबन्धनको शक्ति बाँडफाँटको गृहकार्यमा लागे।

सोमवार नै शितल निवासमा शपथ लिए, कीर्तिपुरमा रहेको पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका प्रचण्डले अबेर साँझ मन्त्रिपरिषदको पहिलो बैठक सिंहदरबारमा गरे। प्रधानमन्त्री भएपछिको बधाई ग्रहण गर्नेदेखि राजनीतिक तथा प्रधानमन्त्रीका रुपमा गर्ने काम उनले निजी निवास खुमलटारबाटै गरिरहेका छन्। संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनेका प्रचण्डलाई ७ दल र स्वतन्त्र सांसदको समर्थन छ। उक्त समर्थनका आधारमा प्रचण्ड सरकारमा ३ जना उपप्रधानमन्त्रीसहित ७ जना मन्त्रि छन्। अहिले प्रचण्डको मन्त्रिपरिषद ८ सदस्यीय छ। 

देउवाको 'एक्जिट' पर्खदै प्रचण्ड

प्रधानमन्त्री निवास बालुवाटारमा सर्न प्रचण्डले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई पर्खिरहेका छन्। देउवालाई प्रचण्डले अरु कारणले पर्खिरहेका भने होइनन्। बालुवाटारबाट निस्किएपछि आफू प्रधानमन्त्री निवास बालुवाटारमा सर्न प्रचण्डले देउवालाई पर्खिरहेका हुन्। 'पूर्व प्रधानमन्त्री बालुवाटारबाट निस्कनु भएको छैन। उहाँहरुले छोड्ने तयारी गरिरहनुभएको छ। त्यसपछि बालुवाटार सर्ने तयारी छ,' प्रचण्डको सचिवालयका एक सदस्यले भने। 

प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेर सोमवार नै पहिलो बैठक बसिसकेको छ। कांग्रेस नेतृत्वको गठबन्धनलाई भत्काएर एमाले-माओवादी गठबन्धन बनाएपछि प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। आइतवार सत्ता गठबन्धनको बैठकको बिचबाटै निस्किएका प्रचण्ड अब भने प्रधानमन्त्रीकै रुपमा बालुवाटार जाने छन्। उनको बालुवाटारको बसाइ तेस्रो पटक हो।

कति होला यसपाला प्रचण्डको बालुवाटार बसाइ?

२०६५ साउन ३१ देखि २०६६ जेठ ११ गतेसम्म पहिलोपटक प्रधानमन्त्री बनेर बालुवाटारमा 'इन्ट्री' मारेका प्रचण्ड दोस्रो पटक २०७३ साउन १९ गते प्रधानमन्त्री भएर बालुवाटार पुगे। दोस्रो कार्याकाल २०७४ जेठ २३ सम्म रह्यो प्रचण्डको। पहिलो र दोस्रो कार्यकाल गरी अहिलेसम्म प्रचण्ड बालुवाटरको प्रधानमन्त्री निवासमा २० महिना बसिसकेका प्रचण्ड यसपाला भने कति समय बालुवाटारमा बस्लान्? त्यो भने अहिलेको सत्ता गठबन्धनको निरन्तरतामा भर पर्ने छ।

घर खोज्दै देउवा
प्रधानमन्त्रीबाट हटेपछि देउवा बालुवाटारबाट सर्लक्कै सर्न भने सजिलो भएन यसपाला। किनभने देउवाले भाडको घर खोजिरहेका छन् आफ्नो बुढानिलकण्ठको घर मर्मत भइरहेकाले। भाडाको घरमा बस्नका लागि घरधनिसँग सम्झौता भएपछि देउवा बालुवाटार छोडने छन्। 'घर खोजिरहनुभएको छ। एक/दुईवटा ठाउँमा कुराकानी भएको छ। बेलुकासम्म थाहा हुन्छ,'देउवाका प्रेस प्रमुख गोविन्द परियाले भने। पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका देउवाको बालुवाटारको बसाइ यसपटक १८ महिना रह्यो। २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए।

ओलीले छोडेका थिए एक दिनमै बालुवाटार
दुईपटक प्रधानमन्त्री भइसकेका ओलीको दोस्रो कार्यकाल सहज रहेन। अदालतको आदेशपछि उनको प्रधानमन्त्री पद गयो। सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि २०७८ असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। देउवा प्रधानमन्त्री भए पछि ओली तामझामका साथ बालुवाटारबाट आफ्नो निजी निवास बालकोट एक दिनमै सरेका थिए। असार ३० गते ओली बालुवाटारबाट बालकोट सरेका थिए त्यतिबेला।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell