
- विक्रम भट्टराई-
काठमाडौं : नयाँ सरकार गठनसँगै प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले समस्याग्रस्त अर्थतन्त्रको सुधार प्रमुख प्राथमिकता रहेको व्यवहारमा देखाएपछि सेयर बजारमा उछाल देखिएको छ।
अर्थतन्त्रमाथि पटक्कै संवेदनशील नदेखिएका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको सरकार ढलेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा विष्णु पौडेल अर्थमन्त्री हुन्छन् भन्ने चर्चाका बिच सोमवारबाटै बजार बढ्न थालेको थियो।
सोमवार मात्रै बजार ५७ अंकले बढेको थियो भने २ अर्बमाथिको कारोबार भएको थियो। मंगलवार सेयर बजार ६० अंकले बढेको छ भने तीन अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। एकाधबाहेक सबै कम्पनीको सेयर मूल्य बढेको छ।
साँझ सपथलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो निर्णय नै ‘वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने’ भनिएको छ।
सोमवार साँझ नै अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत पूर्वका व्यवसायीलाई फोन गरी वार्तामा आउन डाकेका थिए। लगत्तै उनीहरुले आन्दोलनका कार्यक्रमहरु रोकेका छन्।
मंगलवार बिहानबाटै प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पौडेलले निजी क्षेत्रका प्रतिनिधिहरुलाई भेटेर समस्या समाधान गर्ने आश्वासन दिएका छन्। व्यवसायीको टाउको दुखाइ बनेको चालु पुँजी कर्जा मार्गनिर्देशन बारेमा प्रधानमन्त्री दाहालले व्यवसायीको माग पूरा गर्ने आश्वासन दिएका थिए।
नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको टोलीसँग प्रधानमन्त्रीले भेटेर माग पूराको आश्वासन दिएको समाचार सार्वजनिक भएपछि सेयर बजार खुलेको थियो।
बजार सुरुवातबाटै उकालो लाग्न थालेको हो। बजार मात्रै उक्लिएन कारोबार रकम पनि बढ्यो। विश्लेषकहरु सूचकसँग कारोबार रकम बढ्नुलाई लगानीकर्ताको मनोबल बलियो भएको संकेतका रुपमा बुझेका छन्।
मन्दीका बिच मंगलवार ९० कारोबार दिनयताकै सबैभन्दा उच्च रकमको कारोबार भएको छ। मंगलवार करिब ४ अर्ब रुपैयाँको कारोबार भएको हो। यसबिचमा केही कारोबार अर्ब नाघे पनि ठूला घरानाको पारिवारिक नामसारीका कारण मात्र भएको थियो।
मंगलवारको कारोबार भने स-सानो रकमको भएको छ। आम लगानीकर्ता बजारमा प्रवेश गरेको यसले पुष्टी गर्छ।
ब्रोकरहरुका अनुसार, नयाँ सरकार मौद्रिक र पुँजी बजार सुधारमा सकारात्मक भएका कारण लगानीकर्तामा उत्साह फैलिएको छ। यसपाली साना लगानीकर्ता मात्र नभएर संगठित लगानीकर्ताले पनि बजार प्रवेश गरेका छन्।
बजार उक्लिने संभावना उच्च भएका कारण अधिकांश संस्थागत लगानीकर्ता पुस १५ सम्म पूर्णरुपमा बजारमा उत्रिने योजनामा छन्।
‘प्रधानमन्त्रीको पहिलो बैठकले नै पुँजीबजारलाई प्राथमिकतामा राखेको छ। मौद्रिक समस्या समाधानको बाचा गरेका छन्’, एक संस्थागत लगानीकर्ता (क्युआइआइ)ले भने, ‘निजी क्षेत्र र प्रधानमन्त्रीको भेटघाट तीव्र देखिन्छ। अर्थमन्त्री पौडेल पनि व्यापारिक कठिनाइ हल गर्न वार्तामा बस्न थालिसके। व्यवसायीको समस्या आफ्नै ठानेर समाधान गर्छु भनिसके।’
मंगलवार संस्थागत लागानीकर्ता मात्रै नभएर बजारका प्रमुख लगानीकर्तामध्येका म्युचुअल फण्डहरुको उपस्थिति पनि ह्वात्तै बढ्दै गएको छ। नेप्से सूचक दुई हजार अंकयता स्थापना भएका नयाँ योजनाहरुको मेजोरिटी रकम सेयर खरिदमा गएको मर्चेन्ट बैंकरहरु बताउँछन्।
गत जेठ ३१ गते सेयर बजारले २ हजारको विन्दुलाई पनि तोडेर तल ओर्लिएको थियो। त्यसयता पाँच वटा म्युचुअल फण्ड योजनाले अनुमति पाइसकेका छन्। जसमध्ये ३ वटाले इकाई बिक्री गरिसकेका छन्। उनीहरुले सर्वसाधारणबाट मात्रै साढे २ अर्ब रुपैयाँ उठाएका छन्। जसको अधिकतम हिस्सा सेयर खरिदमै गएको छ।
‘निर्वाचन अघिबाटै सुधारिएको तरलता र बाह्य क्षेत्रले संकेत गरिसकेको थियो। सरकार पनि लगानी विस्तार मैत्री बनेको छ। पछिल्लो ट्रयाक रेकर्डले पनि सपोर्ट गर्छ’, एक मर्चेन्ट बैंकरले भने, ‘अब राष्ट्र बैंक अर्थ मन्त्रालयको समन्वयले नयाँ बाटो देखाउने तय छ।’