PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

संक्रमण बढ्दा चीनले किन गर्दैछ कोभिड व्यवस्थापन खुकुलो? क्वारेन्टाइनमा बस्नु नपर्ने भएपछि हवाई टिकट खोज्ने ह्वात्तै बढे



विधुर ढकाल

संक्रमण बढ्दा चीनले किन गर्दैछ कोभिड व्यवस्थापन खुकुलो? क्वारेन्टाइनमा बस्नु नपर्ने भएपछि हवाई टिकट खोज्ने ह्वात्तै बढे
Photo: globaltimes.cn

सांघाई : चीनले कोभिड-१९ को व्यवस्थापनको तहलाई घटुवा गर्दै क वर्गबाट ख वर्गमा राखेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आगामी जनवरी ८ बाट कोभिड-१९ लाई ख  वर्गमा राखेर व्यवस्थापना गर्ने घोषणा सोमबार राति गरेको हो। यो सँगै अब यात्रामा लाग्दै आएको अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम समेत हटेको छ। 

जनवरी ८ देखि चीन प्रवेश गर्ने यात्रु अब क्वारेन्टाइनमा बस्नुपर्ने छैन्। तर, चीन प्रवेश अगाडि भने उनीहरुले कोभिड-१९ को परीक्षण अनिवार्य गर्नुपर्ने छ। 

चिनियाँ स्टेट काउन्सिलको जोइन्ट प्रिभेन्सन एण्ड कन्ट्रोल मेकानिज्मले मंगलबार अन्तर्राष्ट्रिय यात्रुले चीनका लागि प्रस्थान गर्नु अगाडि ४८ घण्टाको कोभिड-१९ को नेगेटिभ रिपोर्ट पेश गरे पुग्ने घोषणा गरेको छ। 

यसअघि चीन प्रवेश गर्नु अगाडि नेगेटिभ रिपोर्ट, ग्रिन कोडको लागि चिनियाँ दूतावास तथा कन्सुलेटमा आवेदन तथा चीन प्रवेशपछि एकीकृत क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू थियो। 

अब उनीहरुले ग्रीन कोडका लागि आवेदनसमेत दिन पर्ने छैन। साथै चीन प्रवेशपछि एकीकृत क्वारेन्टिनमा पनि बस्नुपर्ने छैन। 

उनीहरु चीन प्रवेशसँगै चिनियाँ कस्टुटममा स्वास्थ्य घोषणा फर्म भर्नुपर्ने छ। र त्यहाँ उनीहरुको कोभिड-१९ को परीक्षण गरिने छ। त्यसरी परीक्षण गर्दा पोजेटिभ देखिए कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई बाहिर छाडिने छ। 

सामान्य स्वास्थ्य अवस्था भएका र कस्टुम पोर्टमा असामान्य अवस्था नदेखिएमा उनीहरुलाई बाहिर जान दिइने छ। 

चीन सरकारको पछिल्लो योजना अनुसार विदेशी नागरिकलाई चीनमा काम गर्न तथा व्यवसाय गर्न, अध्ययन, पारिवारिक भ्रमणका लागि सहज बनाउनका लागि प्रवेशलाई सुधार गर्दै लैजाने नीति लिएको छ। 

पछिल्लो पटक जारी गरिएको घोषणामा सबै विमान सेवा सञ्चालकलाई यात्राको अवधिमा अनिवार्य रुपमा माहामारी नियन्त्रणका उपाय अपनाउन निर्देशन दिइएको छ। जस अनुरुप सबै यात्रुलाई मास्क अनिवार्य भने गरिएको छ। 

घोषणासँगै टिकट खोज्ने बढे
यसैबीच चीनको अनलाइन टिकट खरिद गर्ने प्लेटफर्म क्युनारले टिकट खोजी गर्नेको संख्या नयाँ घोषणा भएको १५ मिनेटमा नै सात गुणाले बढेको जनाएको छ। 

आगामी जनवरी २१ देखि २७ सम्म पर्ने चिनियाँ नयाँ वर्ष स्प्रिङ फेस्टिवललाई लक्षित गरी विदेश यात्राका लागि टिकट खरिद गर्नेको संख्यामा समेत वृद्धि भएको छ। 

जसमध्ये मकाओ, हङकङ, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, अमेरिका, सिंगापुर, मलेसिया, अष्ट्रेलिया, बेलायतलगायतका गन्तव्यका लागि टिकट बिक्री बढेको छ। 

अर्को अनलाइन पर्यटन सेवा प्रदायक लीले अन्तर्राष्ट्रिय हवाइ टिकटको खोजी गर्नेको संख्या ८५० प्रतिशतले बढेको जनाएको छ। यसरी टिकट खोजी गर्नेहरु बेइजिङ, सांघाई र ग्वान्झौबाट बढी रहेको लीले जनाएको छ। 

यसअघि चीनले अन्तर्राष्ट्रिय उडानमा 'फाइभ-वान' नीति लागू गरेको थियो। यो नीति अन्तर्गत कुनै एक देशले एउटा सातामा एक दिन एउटा मात्र रुटमा एउटा मात्र विमान सेवा कम्पनी मार्फत एउटा मात्र उडान गर्न पाउने प्रावधान थियो। 

यो घोषणासँगै विदेशी विमान सेवा कम्पनीहरुले उडान संख्या थप्ने घोषणा गर्न थालेका छन्। एयर फ्रान्सले डिसेम्वर २१ देखि सांघाई-पेरिस रुटमा सातामा थप तीन उडान थप्ने घोषणा गरेको छ। फेब्रुअरी ४, २०२३ देखि थपिने नयाँ उडान बोइङ ७७७-३०० ईआरले भर्नेछन्। यी उडानमा ३८१ जनासम्म यात्रु यात्रा गर्न सक्नेछन्। 

त्यस्तै केएलएम रोयल डज एयरलाइन्सले पनि सातामा थप तीन उडान थप्ने जनाएको छ। जसमध्ये दुई उडान सांघाईदेखि आम्स्ट्रडम र एक उडान हाङ्जौका लागि हुनेछ। 

त्यस्तै कतार एयरलाइन्सले पनि दोहादेखि सांघाई उडानको रुट समेत खुला गरेको छ। 

के हो नयाँ वर्गीकरण ? 
कोभिड-१९ को व्यवस्थापन सम्बन्धी वर्गीकरणलाई परिवर्तन गरिएसँगै चीनले नाममा पनि परिवर्तन गरेको छ। 

सुरुमा यसलाई 'नोबेल कोरोना भाइरस निमोनिया' नाम दिएको चीनले यसको संक्रमणको लक्षणमा परिवर्तन भएको भन्दै 'नोबेल कोरोना भाइरस इन्फेक्सन' नाम दिएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सुरुमा संक्रमण देखिएकाहरुमा निमोनियाको लक्षण बढी हुँदा निमोनिया भनिए पनि पछिल्लो समय निमोनियाको लक्षण नगन्य मात्रामा रहेकोले नाम परिवर्तन गरिएको जनाएको छ। 

यसअघि सन् २०२० को जनवरी २० मा कोभिड-१९ लाई ख वर्गको संक्रामक रोगमा वर्गीकरण गर्दै क वर्गको व्यवस्थापन नीति अंगीकार गरेको थियो। 

ख वर्गमा एचआईभी, भाइरल हेपाटाइटिस, एच७एन९ वर्डफ्लुलगायतका रोगलाई चीनले राखेको थियो। तर, यो संक्रमण मानवदेखि मानवमा सजिलै सर्न सक्ने हुँदा यसको व्यवस्थापन क वर्गमा राखेर गर्ने नीति लिइएको थियो। क वर्गमा कोलेरा, प्लेगलाई राखिँदै आएको छ। 

व्यवस्थापनलाई ख वर्गमा राखिएसँगै अब यसको व्यवस्थापनको क्षेत्राधिकार स्वास्थ्य प्रणालीमा आएको छ। यसअघि यसको व्यवस्थापन राज्य प्रणालीमार्फत् हुँदै आएको थियो। 

चीनले डिसेम्वर सात देखि कोभिड-१९ व्यवस्थापन सम्बन्धी व्यवस्थालाई खुकुलो बनाउँदै आएको थियो। यसअघि लागु अनिवर्य कोभिड परीक्षण, सार्वजनि स्थानमा जाँदा सेवा लिँदा अनिर्वार्य रुपमा ग्रिन हेल्थ कोड देखाउनुपर्ने नियमलाई डिसेम्बर ७ देखि हटाएको थियो। त्यस्तै अन्तर्राष्ट्रिय यात्रुलाई चीन प्रवेशपछि १४ दिन बस्नु पर्ने क्वारेन्टिनलाई 'पाँच प्लस तीन'मा झारेको थियो। 

यो परिवर्तनसँगै सबै ध्यान अब जोखिमपूर्ण जनसंख्याको रक्षामा लगाइने स्वास्थ्य आयोगले जनाएको छ। वृद्धवृद्धाहरु, अन्य रोग भएका व्यक्तिहरु, प्रयाप्त स्वास्थ्य सेवा पहुँच नभएका ग्रामिण बस्तीहरुमा ध्यान दिइने बताए। 

यससँगै स्थानीय तहमा फिवर क्लिनिक थप गर्न, अस्थायी अस्पताल निर्माण गर्न अस्पतालहरुलाई निर्देशन दिइएको छ। त्यस्तै ठूला अस्पतालहरुलाई आइसीयु बेडहरु प्रयाप्त मात्रामा तयार गर्न निर्देशन दिएको छ। 

दशौँ लाखमा संक्रमण
यसैबीच चीनमा दैनिक १० औं लाखमा संक्रमण पुष्टि भएका छन्। चीनको स्वास्थ्य आयोगले कोभिड-१९ व्यवस्थापनको वर्गीकरणलाई ख वर्गमा राखेसँगै संक्रमितको रेकर्ड सार्वजनिक गर्न बन्द गरिएको छ। 

यद्यपि केही शहरहरुमा दैनिक लाखौँमा संक्रमण देखिएको छ। चीनको चजियाङ प्रान्तमा दैनिक संक्रमितको संख्या १० लाख नाघ्न थालेको स्थानीय अधिकारीलाई उदृत गर्दै ग्लोवल टाइम्सले जनाएको छ। 

यो संक्रमण नयाँ वर्षको आसपासमा उच्च बिन्दुमा पुग्ने र यो संख्या २० लाखको आसपास हुने बताइएको छ। 

यसैबीच यो प्रान्तमा दैनिक लाखौँले फिवर क्लिनिकमा परीक्षणका लागि पुग्ने गरेका छन्। गत साता एकै दिन चार लाख ८ हजार ४०० जना फिवर क्लिनिकमा पुगेको रेकर्ड रहेको त्यहाँको स्वास्थ्य आयोगका उपनिर्देशक यु सिनलेले बताएका छन्। 

दैनिक १० औं लाखमा संक्रमण देखिए पनि स्वास्थ्य संस्थामा उपचार लिइरहेका संक्रमितको संख्या भने नगन्य छ। हाल सो प्रान्तमा १३ हजार ५८३ जनाले मात्र उपचार लिइरहेका छन्। जसमध्ये एक जनाको अवस्था जोखिमपूर्ण स्थिर रहेको २४२ जनाको संक्रमण अन्य रोगको कारणले गम्भीर अवस्थामा उपचार भइरहेको बताएका छन्। आइतबारसम्म प्रान्तभर दैनिक ६ लाखसम्मको परीक्षण गर्न सक्ने क्षमता पुर्‍याइएको प्रान्तले जनाएको छ।  

त्यस्तै त्यस प्रान्तमा एक लाख १ हजार ८२ शय्या तयारी अवस्थामा राखिएको छ। जसमध्ये १६ सय नयाँ आइसियू बेड थपिएका छन्। आइसियू बेड संख्या १२ हजार ३९८ पुर्‍याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell