PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

केन्द्रको सत्ता समीकरणले बदलिएको परिदृश्य, गण्डकीमा को बन्ला मुख्यमन्त्री?



रिना थापा

केन्द्रको सत्ता समीकरणले बदलिएको परिदृश्य, गण्डकीमा को बन्ला मुख्यमन्त्री?

पोखराः मुख्यमन्त्रीको दाबीसहित चुनावी मैदानमा होमिएका थिए –नेकपा (एमाले) का खगराज अधिकारी। गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छन् भन्ने पक्का नभए पनि उनी मुख्यमन्त्री पदको दाबी गर्थे। चुनावको मतपरिणामले गण्डकीमा मात्र नभई संघमा समेत कुनै दलको पनि एकल सरकार नबन्ने देखायो। सबैतिर सरकार गठनमा करिब निर्णायक बनेको नेकपा (माओवादी केन्द्र) ले कसलाई समर्थन गर्छ प्रश्न थियो।

तर आइतबार एकाएक कांग्रेससँगको सहकार्य तोडेर माओवादी एमालेसँग मिल्यो।

गठबन्धन बनाएर चुनावमा होमिएको कांग्रेस र माआवोदी केन्द्रबीच अन्तिम समयमा आएर तालमेल मिलेन। केन्द्रमा सत्ता समीकरणको माहोल बदलियो। केन्द्रको समीकरणले प्रदेशमा पनि परिदृश्य बदलिँदै छ।

गण्डकीमा के होला?

गण्डकीमा कुनै पनि दलको एकल सरकार बन्ने सम्भावना छैन। ६० सदस्यीय गण्डकीमा २७ कांग्रेस, २२ एमाले, ८ माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद छन्। स्वतन्त्रबाट निर्वाचित भएका सांसद राजीव गुरुङ एकीकृत समाजवादी प्रवेश गरेका छन्। सरकार गठन गर्न ३१ सांसद आवश्यक पर्छ । केन्द्रको समीकरणको हिसाब प्रदेशमा लगाउने हो भने एमालेको २२, माओवादी केन्द्रको ८,राप्रपाको २ सांसदको समर्थनले सरकार गठन गर्न सहज छ।

२७ सदस्यीय गण्डकीमा कांग्रेसको सरकार बन्न माओवादीको समर्थन जरुरी छ।

को बन्ला मुख्यमन्त्री?

रिङबाट कांग्रेस आउट भएसँगै मुख्यमन्त्री बन्ने दौडमा एमालेका खगराज अधिकारी छन्। भागबण्डमा गण्डकी कुन दलको भागमा पर्छ त्यो हेर्न बाँकी छ। तर, गण्डकीमा एमालेले हात ननिकाल्ने पक्कापक्की छ। प्रमुख कारण हो -गण्डकीमा एमालेको राम्रो पकड। अर्को मुख्यमन्त्री बन्ने इच्छाले नै हो खगराज संघबाट प्रदेश झरेका। संघमा गृहमन्त्री समेत बनिसकेका खगराजको नजर मुख्यमन्त्री पदमा छ। अध्यक्ष केपी शर्मा ओली निकट रहेका खगराजले मुख्यमन्त्री पद सजिलै छोड्ने देखिँदैन।

आइतबार प्रचण्ड प्रधानमन्त्रीको शपथ खाने तरखर गर्दा प्रदेशमा खगराज संसदीय दलको नेता सर्वसम्मत चुनिए। दलको नेता चुनिएपछि उनले आइतबार पत्रकारलाई प्रतिक्रिया दिँदा भनेका थिए -नेतृत्व लिन एमाले सक्षम छ। प्रदेशमा एमालेको सरकार हुनु स्वभाविक हो। प्रश्न गर्नु आवश्यक छैन।

एमालेको बलियो पकड रहेको गण्डकीमा ओलीले कस्तो निर्णय लिन्छन् देखिएला। माओवादी पनि गण्डकीको नेतृत्व आफ्नो हातमा लिन पछि पर्ने देखिँदैन। माओवादीबाट संसदीय दलको नेता अझै चुनिएका छैनन्। तर, तनहुँबाट दोस्रोपटक प्रदेश सभा सदस्य चुनिएका हरिबहादुर चुमान दलको नेता चुनिने पक्का छ।

मुख्यमन्त्री पद गुमाएका सुरेन्द्र

गठबन्धन गरेर चुनावमा होमिँदा प्रचण्ड प्रधानमन्त्री र कांग्रेसका सुरेन्द्र पाण्डे गण्डकीको मुख्यमन्त्री बन्ने घोषण गर्दै मैदानमा थिए दुबै दल। गण्डकी प्रदेशको नेतृत्व समाल्ने सम्भावना रहेको बताउँदै सुरेन्द्रलाई मत माग्दै हिँडेका थिए प्रचण्ड।

गठबन्धनकै सहायताले गण्डकीमा ठूलो दल बनेको कांग्रेस सत्तामा पुग्न नजिक थियो। कांग्रेसबाट मुख्यमन्त्रीको आकांक्षी थिए गोरखाबाट निर्वाचित भएका सुरेन्द्र पाण्डे। तर, प्रचण्डकै कदमले मुख्यमन्त्रीको कुर्सी गुमाउन पुगेका छन् सुरेन्द्रले।

गण्डकीमा कांग्रेसले संसदीय दलको नेता भोलि चुन्दै छ। दलको नेता चुन्ने माहोल बनाउन आइतबार सुरेन्द्र पोखरा आइपुगे। मुख्यमन्त्री बन्ने आकांक्षा राखेका सुरेन्द्रको बाटो प्रचण्डको कदमले केही घण्टामा नै रोकियो। एमालेको सहायतामा प्रधानमन्त्रीको शपथ खाएका प्रचण्डका कारण प्रदेश सभा सदस्यको शपथ खाएर चित्त बुझाउने बाटोमा अड्किए सुरेन्द्र।

उनी काठमाडौँबाट पोखरा ल्यान्ड हुँदा देशको सत्ता समीकरणको खेलले नयाँ बाटो लिइसकेको थियो। पोखरा विमानस्थल झरेपछि बालुवाटारमा बसेको प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको असफल वार्ताको खबरले उनको मुख्यमन्त्री बन्ने बाटो बन्द गर्‍यो। जसलाई अनेपक्षित नभएको टिप्पणि गरेका थिए उनले।

‘काठमाडौँबाट पोखरा आउँदा प्लेन त ल्यान्ड भयो । तर, राजनीति क्रयास भयो। म सकुसल अवतरण भएँ। म आइपुग्दा राजनीति क्रयास भयो। अब गण्डकीमा एमालेको नेतृत्वमा सरकार बन्छ होला,’ उनले पत्रकार भेटघाटमा भने।

‘कांग्रेसलाई धोका’

यता नेपाली कांग्रेस गण्डकीले मंगलबार विज्ञप्ति जारी गर्दै  गठबन्धनलाई सत्ता प्राप्तिको विषयमा मात्र केन्द्रित गर्नु दुर्भाग्यपूर्ण रहेको बताएको छ।

गण्डकी सभापति शुक्रराज शर्माद्वारी जारी विज्ञप्तिमा लेखिएको छ -मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनलाई नेपाली जनताले आशा र भरोसाका साथ विजय गराए पनि अहिले सरकार गठनका सन्दर्भमा अनपेक्षित र अप्रत्यासित घटनाक्रमको विकास भई निर्वाचन परिणाम प्राप्त भएको १५ दिन पनि बित्न नपाउँदै ५ दलीय गठबन्धन टुटेर माओवादी केन्द्रको नेतृत्वमा एमालेसहितको गठबन्धनको सरकार निर्माण नेपालको प्रजातान्त्रिक इतिहासमा र संसदीय व्यवस्थाको लामो अभ्यासहरुमा यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell