
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा अघिल्लो सिजन मनाङ मर्स्याङ्दी क्लबको कप्तानी गरेका अञ्जन बिस्ट यस सिजन चर्च ब्वाइज युनाइटेड पुगेका छन्। बिस्टले एक वर्षका लागि करार गरेको चर्च ब्वाइज युनाइटेडले जनाएको छ।
केही ब्यक्तिको स्वार्थले गर्दा मनाङ छाडेँ : अञ्जन
मंगलवार मनाङ मर्स्याङदी क्लब छाडेको घोषणा गरेका अञ्जनले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै केही व्यक्तिको स्वार्थका कारण क्लब छोड्नुपरेको जनाएका छन्।
‘जुन क्लबलाई मनदेखि आफ्नो दोस्रो घर सोचेर अगाडि बढेको थिएँ, त्यसमा केही व्यक्तीहरूले क्लबलाई आफ्नो स्वार्थ अनुसार चलाउन खोजेपछि पटक-पटक राम्रो हुन्छ कि सोच्दा समेत व्यक्तिगत स्वार्थ अनुसार क्लबको हित भन्दा आफु अनुसार क्लबलाई चलाउन खोजेपछि, खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछि बाध्य भएर दुःखी मनका साथ यस क्लबसँगको सहकार्य टुंग्याउने निधो गरेको छु,’ अञ्जनले लेखेका छन्।
उनले पछिल्ला वर्षहरुमा क्लबको कप्तानी सम्हालेर खेलिरहँदा हरेक पल आफूलाई भन्दा क्लबलाई माथि राखेको बताउँदै हरेक परिस्थितिमा क्लबलाई कसरी नेपालको उत्कृष्ट बनाउने भनेर सोचेको उल्लेख गरेका छन्। साथै कप्तानको जिम्मेवारीका लागि क्लबलाई आभार पनि व्यक्त गरेका छन्।
अञ्जनसँग एक वर्षको सम्झौता : चर्च ब्वाइज
अर्कोतर्फ चर्च ब्वाइज युनाइटेडले अञ्जनसँग एकवर्षको सम्झौता गरेको जनाएको छ।
‘अञ्जन बिस्ट चर्च ब्वाइजमा जोडिएका छन्। नेपालका लागि ११ गोल गरेका यी २४ वर्षे यी खेलाडीले १ वर्षको करार गरेका छन्,’ चर्च ब्वाइजको सामाजिक सञ्जालमा लेखिएको छ।
चर्च ब्वाइज अघिल्लो सिजन ‘बी’ डिभिजन लिगको च्याम्पियन बन्दै ए डिभिजनमा उक्लिएको थियो।
पछिल्लो समय ‘ए’ डिभिजन लिगका लागि क्लबहरुमा चहलपहल बढेको छ। संकटा क्लब, नवप्रवेशी चर्च ब्वाइज क्लब लगायतका क्लबहरुले खेलाडी अनुबन्धन सुरु गरिसकेका छन्।