
काठमाडौं: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टारले फार वेस्ट युनाइटेडलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा अलस्टारले सुपर ओभरमा जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। फार वेस्टका लागि देव खनालले सर्वाधिक ४८ रन बनाउँदा कप्तान हसमतुल्लाह शाहिदीले ३२ रन बनाए। त्यस्तै भीम सार्कीले १५ रन बनाउँदा करण केसीले अविजित १२ तथा बिनोद भण्डारी र हसिम अन्सारीले समान ११ रन बनाए। बलिङतर्फ अलस्टारका शाड्ले भान स्काल्क्यकले २ विकेट लिँदा हरमीत सिंह, किशोर महतो र सागर ढकालले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको अलस्टार पनि १३७ रनमै समेटियो। शीर्षक्रमका ब्याट्सम्यानहरु सुनिल धमला र कुशल भुर्तेललाई शुन्य रनमै गुमाएको अलस्टारका लागि गुलसनले झाले सर्वाधिक ३६ रन बनाउँदा लाहिरु मिलान्थाले ३४ तथा विपुल शर्माले ३१ रन बनाए।
बलिङतर्फ फारवेस्टका करण केसी र शेर मल्लले समान २ विकेट लिँदा राशिद खान, उमैर अली, हसमतुल्ला शाहिदी र भुवन कार्कीले समान १ विकेट लिए।
योसँगै खेल सुपर ओभरमा पुगेको थियो। सुपरओभरमा अलस्टारले २० रनको लक्ष्य दिएको थियो। जसमा पछ्याएको फार वेस्ट १० रनमा समेटियो।
योसँगै जारी लिगमा अलस्टारले अपराजित यात्रालाई कायमै राखेको छ। चार खेलमा शतप्रतिशत जित निकालेको अलस्टारले ८ अंक जोडेको छ भने फारवेस्टले समान खेल खेल्दा १ जित निकालेर २ अंक जोडेको छ।