
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएका छन्। प्रचण्डको निजि निवास खुमलटारमा पुगेर ओलीले प्रचण्डसँग बुधवार भेटवार्ता गरेका हुन्।
भेटमा मन्त्रिपरिषद बिस्तार, प्रदेश सरकार गठन र सत्ता गठबन्धनमा बाँकी रहेका पदहरुको बाँडफाँट लगायतका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डसँगको भेटपछि निस्किएका ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको प्रतिक्रिया दिएका छन्।
'सरकार विस्तार, प्रदेश सरकार गठन लगायतका विषयमा छलफल भएको छ,' सचिवालययका एक सदस्यले भने।
२०७७ पुस ४ गते ओली खुमलटार गएपछि आज फेरि खुमलटार पुगेका हुन्। प्रतिनिधिसभा विघटनअघि प्रचण्डलाई भेटेर ओलीले मिलेर जान आग्रह गरेका थिए। अहिले नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनलाई छोडेर एमालेसँग मिल्न आएपछि ओली-प्रचण्डबिच सहकार्य भएको हो।
आजै प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए।