PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

रोल्पाका तीन स्थानीय तहले राखे आफ्नै नगर/गाउँ प्रहरी



पहिलोपोस्ट

रोल्पाका तीन स्थानीय तहले राखे आफ्नै नगर/गाउँ प्रहरी

काठमाडौं : रोल्पाका तीन स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन्। रोल्पा नगरपालिका सहित रुन्टिगढी र माडी गाउँपालिकाले आफ्नै नगर/गाउँ प्रहरी भर्ना गरेका हुन्।

रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने रुन्टिगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन्। रुन्टिगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ।

रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ। नगर प्रहरीमा एक प्रहरी हबल्दार रहेका छन् भने नौ जना प्रहरी जवान रहेका छन्। ट्राफिक व्यवस्थापन, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममासमेत नगर प्रहरी परिचालन गरिने ती पालिकाले जनाएका छन्।

जिल्लाको माडी गाउँपालिकाले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ। उसले दुई महिलासहित सातजना गाउँ प्रहरी भर्ना गरेको हो। गाउँ प्रहरीमा एक जना प्रहरी सहायक निरीक्षक र ६ प्रहरी जवान कार्यरत छन्।

नगर प्रहरी सुरक्षा र विकास गतिविधिमा परिचालन हुँदै आएको रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले जानकारी दिए।

'शान्ति सुरक्षालाई चुस्त राख्नका साथै अन्य गतिविधिमासमेत नगरप्रहरी परिचालित हुन्छन्,' उनले भने।

नगर प्रहरीलाई सलामी,  पिटी परेट, भीड नियन्त्रण, रेक्यू, विपद् व्यवस्थान तथा उद्धार र सामान्य हतियार  सञ्चालनसम्बन्धी एक महिनाको तालिम सञ्चालन गरिएको थियो।

प्रहरीलाई कार्यालय संचालन, चेन अफ कमान्डलगायतका विषयमासमेत तालिम दिइएको थियो। राजस्व सङ्कलन, न्यायिक समितिलाई सहयोग, सरसफाइ, पर्यटन गाइड र कार्यालय सुरक्षाको लागि उनीहरुलाई परिचालन गर्ने सोच स्थानीय तहको भनाइ छ।

नगर प्रहरीलाई सञ्चार सेट, खुकुरी र लठ्ठीको सहायताले सुरक्षा दिने व्यवस्था मिलाइएको छ। प्रहरीको खर्च व्यवस्थापन आन्तरिक स्रोतबाट हुँदै आएको जनाइएको  छ। जिल्लामा एक नगरपालिकासहित दश स्थानीय तह छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell