PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नगरकोटमा निर्वाचनको समीक्षा गर्दै निर्वाचन आयोग



पहिलोपोस्ट

नगरकोटमा निर्वाचनको समीक्षा गर्दै निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ। आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम संचालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि भक्तपुरको नगरकोटमा कार्यक्रम संचालन गरेको छ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सबल र दुर्बल पक्षको समीक्षा गरेर निर्वाचन पश्चात्को अवधिमा आयोगले गर्नुपर्ने कानुनी र नीतिगत सुधारका साथै अन्य कामको खाका कोर्नुपर्ने बताए।

'विगतका निर्वाचनको समीक्षामा आएका निष्कर्षलाई कति कार्यान्वयन गर्न सकियो? त्यसको पनि चिरफार गरेर भावी निर्वाचनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागौं,' उनले भने, 'निर्वाचन चक्रका हिसाबले आगामी आवधिक निर्वाचन आउँन पाँच वर्ष बाँकी रहँदा अहिले निर्वाचन अगाडिको अवधि हो। निर्वाचनको मिति घोषणा भइसकेपछि हामीलाई अस्तव्यस्त र त्रस्त अवधि अनुभव हुने गरेको छ। त्यसैले निर्वाचनपछिको अवधिमा पनि काम गरेर निर्वाचनको व्यवस्थापन र स्वच्छतामा योगदान पुग्नेछ।'

उनले निर्वाचनको मिति निर्धारणको अन्योल र जनप्रतिनिधिको पदावधि र निर्वाचनका चरणबारे आयोगले निर्णय गरेर एक प्रकारको थिति बसाउन खोजे पनि यस्ता विषयलाई कानुनमै स्पष्ट पार्नुपर्नेमा जोड दिए।

यस्तै, एउटा दलको व्यक्ति त्यो दलको जिम्मेवारीमा रहेकै बेला अर्को दलको समानुपातिकको उम्मेदवार हुन पाउने नपाउने? लैङ्गिकता र समावेशीतालाई संविधानको मर्मअनुसार कसरी पालना गराउने? उम्मेदवारको योग्यतामा उठेका विवादलाई कसरी कानुनी निरुपण गर्ने जस्ता विषयमा समीक्षा गर्न प्रमुख आयुक्त थपलियाले आग्रह गरे।

प्रारम्भिक समीक्षा कार्यक्रममा निर्वाचन आयुक्तहरू, आयोगका सचिव, महाशाखा र शाखा प्रमुखहरूसहितको सहभागिता रहेको आयोगका उपसचिव कमल भट्टराईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell