
वीरगंज : विद्यार्थीलाई अपहरण गरि हत्या गरेको अभियोगमा पक्राउ परेका शिक्षकलाई पर्सा प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरि दुई जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा गुरुकुल पाना मेमोरियल इङ्गलिस बोर्डिङ स्कुल अलौ, वीरगंजका शिक्षक दिलिपकुमार पटेल र अर्का कृष्णा भन्ने श्यामप्रसाद यादव रहेका छन्। उनीहरु वीरगंज-२५ खाल्वाटोला श्रीसिया बस्ने श्रीराम पासवानका जेठा छोरा वर्ष १४ का निरज पासवानको अपहरणपछि हत्याका आरोपमा पक्राउ परेका हुन्। निरज ८ कक्षा पढ्दै थिए।
पर्सा, धोबिनी-१ घोडदौरा प्रिप्रा बस्ने वर्ष ३० का पटेल स्कूल र होम ट्यूसन पढाउने शिक्षक हुन् भने वीरगंज-१७ अलौ बस्ने २४ का यादव सहयोगी भूमिकामा छन्। ५० लाख फिरौतीको लागि निरजलाई गत मंसिर ५ गते दिउँसो २ बजे निरजकै गाउँको चोकबाट उठाएर बेपत्ता पारेका थिए। बालकको शव पुस १० गते साँझ ५ बजे स्कूलको पुरानो भवन नजिकैको चर्पीको सेफ्टी ट्यांकमा भेटिएको थियो। बालक अपहरणको १२ दिनपछि फिरौतीको लागि निरजका बुवा श्रीरामलाई फोन आएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो। त्यो भन्दाअघि बालक हराएको भनेर गम्भीरतापूर्वक लिइएको थिएन।
जबकि बालकका परिवारले मंसिर ६ गते नै पर्सा प्रहरीमा निवेदन दिइसकेको थियो। अपहरण गरि हात खुट्टा बाँधेर राख्दा खोलेर भाग्ने डरले हत्या गरेको प्रहरीमा बयान दिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए। पक्राउ परेका दुबैमाथि शरीर बन्धक बनाई ज्यानसम्बन्धि कसुरमा म्याद थपि थप अनुसन्धान भइरहेको छ। घटनामा संलग्न थप एक जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।