काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ राजनीतिक परिस्थिति देखा परेको भन्दै जिल्ला अध्यक्षहरुसँग संवाद गरिरहेका छन्। भर्चुअल रुपमा भइरहेको संवादमा नेकपा (माओवादी केन्द्र)ले कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेसँग सहकार्य गरेको विषयमा नेपालले आफ्ना पार्टीका नेताहरुको धारणा बुझ्न छलफलको आयोजना गरेका हुन्।
'जिल्लाका अध्यक्षहरुसँग पछिल्लो परिस्थितिका बारेमा छलफल भइरहेको हो,' एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने। आजै नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा सरकारमा सहभागी हुन प्रचण्डले आग्रह गरेपछि सरकारमा सहभागी हुने नहुनेबारेमा पनि नेताहरुका बिचमा नेपालले छलफल गरिरहेका छन्। प्रचण्डसँगको भेटमा नेपालले आफूलाई थाहै नदिएर ओलीसँग सहकार्य गरेको भन्दै गुनासो गरेका थिए। मंगलवार नेपाललाई भेटेर पूर्व एमाले नेता बामदेव गौतमले पनि सत्ता गठबन्धनमा सहभागी हुन नेपाललाई सुझाव दिएका थिए।
एकीकृत समाजवादीका नेताहरुका अनुसार नेपाल सत्ता गठबन्धनलाई सघाउन सकारात्मक छन्। माओवादी केन्द्रका नेताहरु एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन नेपाललगायत दोस्रो तहका नेताहरुसँग संवाद गरिरहेका छन्। अर्कोतर्फ नेकपा एमालेका नेताहरुले पनि नेपालसँगको संवादलाई बाक्लो बनाएका छन्। उनीहरुले फेरि पनि एमालेसँगै मिल्नुपर्ने भन्दै नेपाललगायतका नेताहरुलाई मनाउने प्रयास गरिरहेको बताइन्छ। आजै एमालेका नेता महेश बस्नेतले नेपाललाई भेटेका थिए।
यस्तै केही दिनअघि एमालेका नेता पृथ्वीसुब्बा गुरुङले पनि नेपाललाई भेटेर छलफल गरेका थिए। एकीकृत समाजवादीसँग प्रतिनिधि सभामा १० जना सांसद छन्। १० जना सांसदलाई नै एमालेमा फर्काए तथा केही स्वतन्त्र रुपमा चुनाव जितेका सांसदहरुलाई एमालेमा सहभागी गराए एमाले पहिलो पार्टी हुने भन्दै एमालेका नेताहरु त्यसको गृहकार्यमा लागेका हुन्। एमालेसँग हाल ७८ सांसद छन्। एकीकृत समाजवादी पनि एमालेमा मिसिए सांसद संख्या ८८ हुने छ। हाल नेपाली कांग्रेससँग ८९ जना छन्। एमालेका नेताहरुले एमाले छोडेका नेता प्रभु साहसँग पनि संवाद गरिरहेका छन्।
मन्त्री भएपछि अर्थमन्त्री विष्णु पौडेलले पनि नेपाललाई भेटेर सत्ता गठबन्धनमा सहभागी हुन नेपाललाई आग्रह गरेका थिए। माओवादी केन्द्रले भने तत्काल पार्टी एकता भन्दा पनि गठबन्धन बनाएर अघि बढ्न खोजिरहेको छ। माओवादी केन्द्रका सचिव गणेश साहले तत्काल एमाले, माओवादी र समाजवादी एकता सम्भव नभएको बताए। 'तत्कालका लागि मोर्चाबन्दीमात्रै हो। पछि त हुन पनि सक्छ,' उनले भने। एमाले-माओवादीका नेताहरुका बिचमा भएका पछिल्ला भेटहरुमा पार्टी एकताका विषयमा समेत अनौपचारिक छलफल हुन थालेको छ। यसअघि ओलीले प्रधानमन्त्रीको शपथको दिन पुस ११ गते शितल निवासमा नेपालसँगको संवादहीनता तोडेका थिए। अनौपचारिक कुराकानी भए पनि ओली-नेपालको उक्त संवादले अर्थ राख्ने दुबै पार्टीका नेताहरु बताउछन्। ओलीले नेपालसँगको सम्बन्धलाई पनि सुधार गर्न चाहेका छन्।
२०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधि सभाको विघटनपछि ओली, प्रचण्ड-नेपालको सम्बन्धमा दरार आएको थियो। एमाले र माओवादी एकता भएर बनेको नेकपा बदरका बेला एमालेमा फर्किएका नेपालसँग ओलीले पटक-पटक वार्ता गरेका थिए। तर वार्ता सकारात्मक नभएपछि ओली नेपाल आरोप प्रत्यारोपमा उत्रिए। नेपालले ओलीलाई 'गफाडी' भन्दै आरोप लगाउने गरेका थिए भने ओलीले नेपाललाई गद्दार भन्दै आक्रोश ब्यक्त गर्ने गरेका थिए।