PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

देउखुरीको नयाँ भवनमा प्रदेशसभा बैठक बस्ने : चिटिक्क पारिँदै सभाहल, शपथ पुस १६ गते



रमेश पराजुली

देउखुरीको नयाँ भवनमा प्रदेशसभा बैठक बस्ने : चिटिक्क पारिँदै सभाहल, शपथ पुस १६ गते

बुटवल : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) मा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सोही भवनमा सांसदहरूले शपथ लिने र प्रदेशसभाको पहिलो बैठक बस्ने गरि तयारी गरिएको छ ।

राप्ती गाउँपालिका–३ लालमटियामा निर्माण भएको प्रदेशसभा भवनमा विद्युत् कनेक्सन जोड्ने, रंगरोगन, एसी राख्ने, टेबुल, कुर्सी, कार्पेट बिछ्याउने, प्रदेशसभालाई चाहिने माइक्रोफोन राख्नेलगायतका 'डेकोरेसन'का काम धमाधम भइरहेका छन्।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीका अनुसार भवनमा पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ। अब केही साना काममात्र बाँकी छन्।

एक अर्ब २० करोड लगानीमा बनेको प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि १४ कोठा रहेका छन्। वाइबी स्टोन बिल्डर्स प्रालिले प्रदेशसभा भवन निर्माण गरेको हो।

२०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो। स्थायी राजधानी घोषणा भएको दुई वर्षपछि गत मंसिर २८ गतेबाट कार्यान्वयनमा आएको हो।

मुख्यमन्त्री कार्यालयसँगै अन्य मन्त्रालयहरु पनि अब छिट्टै नै सार्ने तयारी थालिएको छ। यसका लागि देउखुरीमा मन्त्रालयका भवनहरुको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको छ। यसअघि अस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो।

स्थायी राजधानी कार्यान्वयनमा आएसँगै अहिले देउखुरी क्षेत्रलाई सिँगारिएको छ। बस बिसौनी तथा प्रतीक्षालयमा पनि नयाँ रंग लगाइएको छ। बजार क्षेत्र तथा मूल सडकमा पर्ने चोकहरूमासमेत स्वागतद्वार निर्माण गरिएको छ।

सांसदको शपथ पुस १६ मा

गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित लुम्बिनीका सांसदहरुको शपथ पुस १६ गते हुने भएको छ। लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा सदस्यहरुलाई १६ गते शपथ गराउन सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको हो।

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा देउखुरीस्थित मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ गते शपथ ग्रहण र प्रदेश सभाको पहिलो अधिवेशन १८ गते बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए।

प्रदेश सभाका जेष्ठ सदस्यलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउने कार्यक्रम छ। बैठकले प्रदेशको पुर्वी सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्ने निर्णय समेत गरेको छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागगरिक उन्मुक्ति पार्टीबाट ४–४ जना, जसपा, लोसपा र जनमत पार्टीबाट ३–३ जना, नेकपा एकीकृत समाजवादी,  राष्ट्रिय जनमोर्चाबाट १–१ जना र ३ जना स्वतन्त्र सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell