PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एमालेका दुई रणनीति: संसदमा पहिलो पार्टी, माधव नेपाललाई फर्काउने



प्रकाश भण्डारी

एमालेका दुई रणनीति: संसदमा पहिलो पार्टी, माधव नेपाललाई फर्काउने

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुस १० गते अघि औपचारिक वार्ता हुन पाएन। फोन र दुतमार्फत भएका सन्देश आदानप्रदानले प्रचण्ड-ओलीको सम्बन्धमा सुधार मात्रै ल्याएन कट्टर विरोधी समर्थक नै बने। ओलीको साथले प्रचण्ड प्रधानमन्त्री मात्रै बनेका छैनन् वाम गठबन्धनको साथका लागि ओलीले गृहकार्य गरिरहेका छन्। त्यसका लागि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग ओलीलगायत एमालेका नेताहरुले संवाद अघि बढाइसकेका छन्। जसको पहल कदमी एमालेका दोस्रो तहका नेताहरुमार्फत भइरहेको एमाले र नेकपा एकीकृत समाजवादी निकट स्रोतहरु बताउँछन्। 

बुधबार प्रचण्ड-नेपालको वार्तामा वाम एकताका बारेमा समेत संवाद भएको थियो। सरकारमा सहभागी हुन प्रचण्डले नेपाललाई प्रस्ताव गरे पनि नेपालले तत्काल सरकारमा सहभागी हुने वचन भने दिएनन्।

'सरकारमा सहभागी हुनुस् भनेर प्रचण्डले आग्रह गर्नुभयो तर अहिले तत्काल निर्णय गर्दैनौं भन्नुभएको छ,' एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने।

प्रचण्डको उक्त प्रस्तावबारे नेपालले बुधबार आफ्ना पार्टीका जिल्ला अध्यक्षहरुसँग भर्चुअल छलफल गरेका थिए। शीर्ष नेताहरुले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरेको एकीकृत समाजवादीको छलफलमा सरकारमा सहभागी हुने नहुनेबारे नेताहरुको धारणा नेपालले सुनेका थिए। 

तत्काल सरकारमा सहभागी नहुने रणनीतिमा एकीकृत समाजवादी छ। किनभने प्रचण्ड नेतृत्वको सरकारले अबको केही दिनमा सरकारको न्युनतम कार्यक्रम ल्याउने छ। उक्त कार्यक्रमका आधारमा मात्रै आफ्नो प्रचण्ड सरकारलाई समर्थन हुने नहुनेबारे निर्णय गर्ने छ। त्यतिबेलासम्म प्रचण्ड र एमालेका नेताहरुसँग एकीकृत समाजवादीका नेताहरुले अनौपचारिक संवाद गर्नेछन्। उक्त संवाद सकारात्मक भए वाम एकता र सरकारलाई समर्थन गर्न सकिने पक्षमा एकीकृत समाजवादीका केहि नेताहरु सहमत छन्। 

एकीकृत समाजवादीको समर्थन जुटाउन प्रचण्डले तत्काल मन्त्रिपरिषद विस्तार नगर्ने एमालेका नेताहरुको भनाइ छ। 'पहिला विश्वासको मत लिनुहुन्छ त्यसपछि मात्रै उहाँले सरकार विस्तार गर्नुहुन्छ। त्यसअघि न्युनतम कार्यक्रम आउँछ,' एमालेका ती पदाधिकारीको भनाइ छ। प्रदेश सरकार गठनको भागबन्डालगायतका विषयमा पनि प्रचण्ड-ओलीबीच छलफल भइरहेको छ। अहिले ८ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिनु पहिले प्रदेश सरकार गठनको भागबन्डा मिलाउन दुई नेता सक्रिय भएका हुन्। 

माधव नेपाललाई मनाउने प्रयास
सोमबार प्रचण्डले प्रधानमन्त्रीको शपथ लिदा राष्ट्रपति कार्यालय शीतलनिवासमा नेपालसँग सामान्य कुराकानी गरेका थिए। ओली-नेपालको लामो समयको संवादहीनता शीतलनिवासको संवादपछि तोडिएको छ। ओलीले पछिल्लो समय नेपालसँगको सम्बन्ध सुधार गर्न चाहेकाले पनि एमाले नेताहरुले नेपालालई एमालेमै फर्काउन प्रयास गरिरहेका हुन्। बुधबार एमालेका नेता महेश बस्नेतले नेपाललाई भेटेर एमालेमै फर्कन आग्रह गरेका थिए। एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले पनि नेपालसँग संवाद गरेका छन्। उनले पनि नेपाललाई अहिलेको सरकारलाई समर्थन गर्नेदेखि एमालेमा फर्कन नेपाललाई आग्रह गरेका छन्।

पहिलो पार्टी बनाउन गृहकार्य
एमाले अहिले प्रतिनिधि सभामा ७८ सिट सहित दोस्रो ठूलो दल हो। एमालेका नेताहरुले नेपालको पक्षमा रहेका १० सांसदलाई एमालेमै फर्काउन सकिए पहिलो पार्टी बन्ने भन्दै त्यसको गृहकार्यमा लागेका हुन्। एकीकृत समाजवादीका सांसद फर्किए ८८ सांसद हुनेछन् भने ओलीले स्वतन्त्र सांसदको रुपमा रहेका ५ जना मध्य केहीलाई एमालेमा आउन प्रस्ताव गरेका छन्। अहिले पहिलो पार्टी रहेको नेपाली कांग्रेसँग ८९ जना सांसद छन्। एमाले पहिलो पार्टी बन्न एकीकृत समाजवादीसहित कम्तिमा २ जन स्वतन्त्र सांसदलाई एमालेमा तान्नुपर्ने छ।

'नेताहरुमार्फत एकीकृत समाजवादीका नेताहरुसँग वार्ता भइरहेको छ। तर अहिले नै पार्टी एकताकै लागि तयारी भइसकेको छैन,' एमालेका एक पदाधिकारी भन्छन्। 

पार्टी नै एकता होला?
निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्डले कांग्रेससँगको सम्बन्धमा  ब्रेक र एमालेसँग सहकार्यका लागि गृहकार्य गरेका थिए। माओवादी र एमालेका दोस्रो तहका नेताहरुमार्फत भएको पहलमा ओली र प्रचण्ड पनि सहमत भएपछि प्रचण्ड-ओलीको सहकार्य सम्भव भएको थियो। तर उक्त सहकार्य पार्टी एकतासम्मै पुग्छ भन्नेबारेमा भने माओवादी केन्द्रका नेताहरु विश्वस्त छैनन्। माओवादीका सचिव गणेश साहले अहिले नै पार्टी एकता नहुने बताए। 'अहिले त यो सहकार्य मात्रै हो। पार्टी एकता नै त हुँदैन्। तर पछि सम्म के हुन्छ भन्न सकिन्न,' उनले भने। 

बढ्यो प्रचण्ड-ओलीको हार्दिकता
प्रचण्ड-ओलीको सम्बन्धमा आएको दरारकै कारण पार्टी एकता संकटमा परेकोमा फेरि प्रचण्ड-ओलीको सम्बन्ध सुधारकै कारण सहकार्यको स्थिति बनेको छ। बुधबार ओली प्रचण्डको निजी निवास खुमलटार जानुको अर्थ पनि सम्बन्ध हार्दिकतापूर्ण भएको सन्देश दिनु भएको नेताहरु बताउँछन्। प्रचण्डको सचिवालयले सरकारको न्युनतम कार्यक्रमका लागि दुई नेताबीच छलफल भएको र शक्ति बाँडफाँटका विषयमा समेत कुराकानी भएको जानकरी दिएको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा कुराकानी भएको बताए। 'सरकारलाई कसरी प्रभावकारी बनाउने, सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ,' मल्लले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell