
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्टार्सबर्गलाई हराएको छ। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले २-१ गोलअन्तरको जित निकालेको हो।
खेलको १४ औं मिनेटमा नेइमारले फ्रिकिकमा प्रहार गरेको बललाई हेडरमार्फत गोल गर्दै मार्क्विन्होसले पीएसजीलाई अग्रता दिलाउँदा घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा मार्क्विन्होसले नै आत्मघाती गोल गर्न पुगे। उनले ५१ औं मिनेटमा आत्मघाती गोल गर्दा खेल बराबरीमा फर्कियो। खेलको ६२ औं मिनेटमा दोहोरो पहेँलो कार्ड ब्यहोरेका नेइमार बाहिरिँदा पीएसजीलाई जित दिलाउन किलियन एम्बाप्पेले निर्णायक गोल गरे। उनले खेलको इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।
जितसँगै पीएसजीले शीर्षस्थानमा अग्रता फराकिलो पार्दै लगेको छ। १६ खेलबाट ४४ अंक जोड्दै पीएसजी शीर्षस्थानमा रहँदा दोस्रो स्थानको लेन्सले १५ खेलबाट ३६ अंक जोडेको छ। स्टार्सबर्ग भने ११ अंक जोडेर तालिकाको १९ औं स्थानमा छ।