PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

२५ वर्षीय डेबिटले ‘क्रिएट’ गरेको अपराधको डरलाग्दो ‘प्लट’, आन्तरिक राजस्वको नाम बेच्दै कमाऊ धन्दा



सविन ढकाल

२५ वर्षीय डेबिटले ‘क्रिएट’ गरेको अपराधको डरलाग्दो ‘प्लट’, आन्तरिक राजस्वको नाम बेच्दै कमाऊ धन्दा

काठमाडौं : ब्याचलरको पढाई क्लियर हुन नसकेपछि २५ वर्षीय डेबिट धामी कामधन्दामा लागे। कञ्चनपुरको बेतकोट नगरपालिका घर भएका डेबिट केही समयदेखि काठमाडौंको थापाथलीमा डेरा गरी बस्दै आएका थिए। विभिन्न माध्यमबाट उनी बानेश्वरमा रहेको एक अडिट फर्ममा काम गर्न पुगे।

विभिन्न कम्पनीहरू कर सम्बन्धी काम लिएर फर्ममा पुग्थे। समय बित्दै जाँदा फर्महरूको कर चुक्ता कसरी गर्ने? करमा जान के-के गर्नुपर्छ? फर्म दर्ता तथा सञ्चालन गर्दा करको दायरमा आउन के-के चाहिन्छ? जस्ता विषयमा डेबिट निपुण हुन थालेका थिए। कम्पनी/ फर्महरूलाई राजस्वको दायरमा ल्याउन गरिने प्रक्रियाबारे उनी पोख्त हुँदै गए। कामको सिलसिलामा उनी आन्तरिक राजस्व कार्यालयमा समेत पुग्थे। राजस्व कार्यालयहरूले गर्ने कामहरूको बारेमा पनि केही जानकार हुन थाले।

दिनहरू राम्रोसँग नै बित्दै गएका थिए। फर्ममा उनको काम राम्रो नै चलिरहेको थियो। तर, एकाएक डेबिटलाई प्रहरीले नियन्त्रणमा लियो। मङ्सिर २३ गते दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित नयाँ बसपार्क इलाकाबाट उनी समातिए। उनी समातिँदा उनीसँगै अन्य सात जना मानिस पनि समातिएका थिए।

पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासी हुप्सेकोटका २९ वर्षीय बिन बहादुर बिक, पाँचथर फिदिमका सृजना भट्टराई, अछामका १९ वर्षीय सागर जङ्ग लुहार, सिन्धुपाल्चोक साँगागढीचोककी २३ वर्षीया प्रमिशा तामाङ, २३ की दुधकला बिक, नुवाकोट बेलकोटगढीका २१ वर्षीय अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट रहेका छन्। प्रहरीले अनुसन्धान थाल्यो।

युनिफर्म र राजस्व कार्यालयको परिचयपत्र ल्याएका मानिस नक्कली कर्मचारी भएको खुल्यो। यी सबै घटनामा मुख्य योजनाकार भने डेबिट भएको पर्दाफास भयो। डेबिटले फर्मबाट सिकेको ज्ञानलाई गलत प्रयोग गरेको देखिन्छ। डेबिट अहिले हिरासतमा छन्।

कर्मचारी भर्ना गरेरै ठगी धन्दा!

फर्मका काम गर्दा राजस्वको दायरमा नआएका कम्पनीलाई कसरी कानुनी बाटोमा लग्ने भन्ने ज्ञान डेबिटले बटुलिसकेका थिए। अनि यसरी राजस्वको दायरमा नआउने कम्पनीले कति जरिवाना तिर्ने,  गलत बाटोबाट कसरी मिलाउने भन्ने विषयमा उनी जानकारी भए। त्यसैको फाइदा उठाउँदै उनले अपराधको बाटो रोजेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

उनले आफ्नो फेसबुकमार्फत ठगी गर्ने प्रक्रिया सुरु गरेका थिए। एक निजी कम्पनीलाई प्रोजेक्टको लागि कर्मचारी चाहिएको भन्दै विज्ञापन गरे। कतिले उनको फेसबुक विज्ञापनलाई बेवास्ता समेत गरे। तर, जो बेरोजगार थिए र राम्रो प्लेटफर्म भएको बुझे उनीहरू जागिरको लागि प्रक्रियामा गए।

जागिर खान मन भएकाहरूको डेबिटसँग म्यासेन्जरमा नै कुराकानी हुन थाल्यो। उनले फेसबुकबाट नै विभिन्न तहगत रुपमा कर्मचारी छनोट गरे।

‘उनले इन्टरभ्युदेखि विभिन्न प्रक्रिया गर्ने भन्दै कर्मचारी छनोट गरेको देखियो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

त्यसरी छानिएका मानिसलाई उनले तालिम र केही ज्ञान समेत दिन थाले। राजस्वसम्बन्धी लेखिएका किताबहरू समेत उनी पढ्न लगाउँथे। त्यसपछि उनीहरूको लागि युनिफर्म, आइडी कार्ड लगायतका समाग्रीहरु बनाएका थिए। मङ्सिर १९ गतेदेखि उनीहरूलाई काममा बोलाएका थिए। महिनाको ३० हजार रुपैयाँ तलब तोकिएको थियो। त्यसमा खाजा र गाडीको भाडा छुटै तोकिएको अनुसन्धानमा देखिन्छ।

त्यसपछि उनी नयाँ बसपार्कका विभिन्न होटेल तथा गेस्ट हाउसमा पुगेर राजस्व अनुसन्धान कार्यालयको टोली भन्दै अनुगमन सुरु गर्न थाले। रेष्टुरेन्टहरुमा राजस्व अनुगमनका लागि आएका हौँ भनी होटेल तथा रेष्टुरेन्टहरुले विभिन्न बहानामा कर छली गर्ने गरेकाले नगद जरिवाना तिर्नु पर्ने भन्दै आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिई पैसा असुल गर्न थाले।

झट्ट हेर्दा पोसाकमा, गलामा कार्यालयको कार्ड अनि हातमा रसिद कर प्रणालीमा नआएका केही फर्महरूले रकम पनि दिए। उनको यो ठगी धन्दा धेरै दिन टिक्न सकेन। काम सुरु गरेको चौथो दिनमा नै उनी समातिए।

‘उसले ती कर्मचारीहरूलाई अफिस भने देखाएको थिएन। आफू अफिसबाट आएको आज अनुगमन हो भन्दै ११ बजेदेखि काम गर्ने गरेको देखियो,’ एक अधिकृतले सुनाए।

आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प, अनुगमन अधिकृत लेखिएको स्टाम्प, हस्ताक्षर भएको स्टाम्प, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरू, राजस्वसम्बन्धी किताबहरू समेत प्रहरीले बरामद गरेको छ। त्यस्तै, चौरासी हजार सात सय रुपैयाँ समेत भेटिएको छ।

अहिले उनीहरू हिरासतमा छन्। प्रहरीले अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा बुझाएको छ। डेबिट बाहेक अन्यलाई घटना जानकारी नभएको र कुनै प्रोजेक्टमा नै काम गरेको बयान गरेका छन्। प्रहरीले  मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२१ को २४९ को ठगी गर्न नहुने कसुर तथा परिच्छेद-२५ को २७६ को कीर्ते गर्न नहुने कसुर मुद्दामा अनुसन्धान गरेको थियो।

यसअघि पनि नक्कली प्रहरीदेखि सीडीओसम्म बनेर मानिसले ठगी गर्ने गरेका छन्। जसमा डेबिटको अर्को नौलो शैलीको ठगी धन्दा खुलेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell