
काठमाडौं : पश्चिमी वायुको प्रभावले प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ।
उक्त प्रणालीको प्रभावले प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीका साथै प्रदेश १ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ।
विभागले आगामी २४ घण्टा देशको प्रदेश १ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस छ।