PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बोर्ड अन्तर्गतको स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी



पहिलोपोस्ट

बोर्ड अन्तर्गतको स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

काठमाडौं : कलाकार रामचन्द्र अधिकारीले चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाअन्तर्गत ४६ हजार ६ सय रकम पाएका छन्। विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने उनी पहिलो व्यक्ति हुन्।

अधिकारीले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको उक्त रकम चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई प्रदान गरेका हुन्। बीमा रकम पाएसँगै कलाकार अधिकारीले चलचित्र विकास बोर्डलाई धन्यवाद दिए।

‘चलचित्र विकास बोर्डले चलचित्रकर्मीलाई गरेको यो सहयोग एक जीवनदानको रुपमा मैले हेरेको छु। यो सुविधा आवश्यक पर्दा सबैले सजिलै पाउन सकुन्। हाम्रो दु:ख बुझ्ने कलाकार नै अध्यक्षको रुपमा आउनुभएको छ। हामीलाई अझै धेरै भरोषा पलाएको छ,’ अधिकारीले भने।

बोर्ड अध्यक्ष भुवन केसीले सानो रकमले धेरै समस्या समाधान नहुने भए पनि यो एउटा सुरुवात भएको सुनाए।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरुलाई बोर्डले विभिन्न किसिमका सुविधाहरु प्रदान गर्ने योजनाअनुरुप स्वास्थ्य बीमाको कार्यक्रम ल्याइएको थियो। यस कार्यक्रम अन्तर्गत विशिष्ट परिचयपत्र प्राप्त गर्ने जम्मा १०२ जना चलचित्रकर्मी मध्ये ९८ जनाको बीमा गरिएको थियो।

बीमा कार्यक्रममा सहभागी प्राविधिक उद्धवराज भट्टराईको निधन भइसकेको छ भने परिचयपत्र प्राप्त गरेका कलाकार हरि प्रसाद रिमाल, लेखक/निर्देशक चेतन कार्की, कलाकार सुभद्रा अधिकारी र प्राविधिक गेहेन्द्र धिमालको बीमा कार्यक्रम सुरु हुन अघि नै निधन भइसकेको थियो।

चालु बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा भर्ना भई उपचार गर्नुपर्दा ६५ हजार र भर्ना नभई उपचार गर्नुपर्दा ३५ हजार रुपैयाँसम्म गरि जम्मा १ लाख प्राप्त गर्न सकिन्छ। राष्ट्रिय बीमा कम्पनीका प्रतिनिधि धर्म भण्डारीले यो बीमा सुविधा लिन योग्य सबैलाई रकम दाबी गर्न अनुरोध गरे। बीमा गरेको ६-७ महिनामा बल्ल एकजनाले दाबी गरेको बताउँदै दाबी पेश गरेपछि २४ घण्टाभित्र चलचित्र विकास बोर्डमा उक्त रकम उपलब्ध गराउने सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell