PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रचण्ड प्रधानमन्त्री भएपछि गठबन्धनको बैठक पहिलोपटक सरकारी निवासमा, बालुवाटारको दुरुपयोगमा ओली र देउवालाई पछ्याउँदै दाहाल



पहिलोपोस्ट

प्रचण्ड प्रधानमन्त्री भएपछि गठबन्धनको बैठक पहिलोपटक सरकारी निवासमा, बालुवाटारको दुरुपयोगमा ओली र देउवालाई पछ्याउँदै दाहाल

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा सरेको भोलिपल्ट आज गठबन्धनको बैठक बालुवाटारमा बसेको हो।

गठबन्धनभित्र शक्ति बाँडफाँटका विषयमा गठबन्धन दलहरु छलफलमा जुटेका हुन्। बैठकमा प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु बैठकमा सहभागी छन्।

बुधवार ओलीले प्रचण्डको निजि निवास खुमलटारमै पुगेर सरकारको न्युनतम कार्यक्रमका बारेमा छलफल गरेका थिए। मन्त्रिपरिषद् बिस्तार तथा प्रदेशको भागबन्डा लगायतका विषयमा गठबन्धनमा छलफल भइरहेको छ। पुस १० गते प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेसँग सहकार्य गरेपछि नयाँ सरकार बनेको थियो। हाल ८ जनाको मन्त्रिपरिषद् छ। २५ जनासम्म मात्रै मन्त्री बनाउन पाइने भएकाले गठबन्धनले अब १७ जना मन्त्रीको छनोट गर्नुपर्नेछ।

यसअघि प्रधानमन्त्री रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि बालुवाटारमै गठबन्धनको बैठक राख्ने गरेका थिए। त्यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि सत्तारुढ दलको बैठक बालुवाटारमै बस्ने गरेको थियो। सरकारी निवासको दुरुपयोग भएको भन्दै आलोचना हुने गरेको भए पनि प्रचण्डले समेत ओली र देउवालाई पछ्याउँदै बालुवाटारमै बैठक राखेका हुन्।

यसअघि गठबन्धनको बैठक पुस ११ गते बानेश्वरको संसद भवनको लोत्से हलमा बसेको थियो। ओली प्रधानमन्त्री भएका बेलामा तत्कालीन नेकपाका नेताहरुले बालुवाटारमा ओलीले बैठक राखेको भन्दै प्रश्न उठाउने गरेका थिए। ओलीलाई प्रश्न उठाएर मोर्चाबन्दीमा उत्रिएका प्रचण्ड अहिलेकै शैलीमा गठबन्धनको बैठक बालुवाटारमा राखिरहेका छन्। नेपाली कांग्रेसका नेताहरुले पनि देउवाले बालुवाटारमा बैठक राखेकोमा आलोचना गर्दै आएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell