PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सुदूरपश्चिमका नवनिर्वाचित सांसदले भोलि शपथ लिने, ६ जनाले मातृभाषामा शपथ लिने



पहिलोपोस्ट

सुदूरपश्चिमका नवनिर्वाचित सांसदले भोलि शपथ लिने, ६ जनाले मातृभाषामा शपथ लिने

कैलाली : सुदूरपश्चिम प्रदेश सभाका निर्वाचित प्रदेश सभा सदस्यलाई भोलि पुस १५ गते शपथ ग्रहण गराइँदैछ । प्रदेश सभा सदस्यहरूलाई शपथ गराउनका लागि सबै तयारी सकिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ।

प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका लागि प्रदेश सभा भवन सिँगारिएको छ। सरसफाइ लगायतका कामहरू गरेर प्रदेश सभा झकिझकाउ बनाइएको छ।

संविधानको धारा १७९ बमोजिम प्रदेश सभामा निर्वाचित हुने सदस्यले प्रदेश प्रमुख समक्ष शपथ लग्नुपर्ने प्रावधान रहेको छ। प्रदेश प्रमुख समक्ष शपथ लग्दा प्रदेश प्रमुखले सबैभन्दा ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र ती ज्येष्ठ सदस्यले बाँकी प्रदेशसभा सदस्यलाई शपथ खुवाउनु पर्ने प्रावधान छ। त्यही अनुसार भोलि दिउँसो कार्यक्रम तय गरिएको हो।

प्रदेश सभामा निर्वाचित सदस्य मध्य अछाम क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावललाई प्रदेश प्रमुखले शपथ खुवाउने छन्। प्रदेश प्रमुखले शपथ गराएपछि उनले प्रदेश सभाका बाँकी ५२ प्रदेश सभा सदस्यलाई शपथ गराउने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जोशीले जानकारी दिए।

सुदूरपश्चिममा निर्वाचित ५३ प्रदेश सभा सदस्यहरूमध्ये नागरिक उन्मुक्ति पार्टीका पत्यक्षमा निर्वाचित ५ जना र नेपाली कांग्रेसबाट समानुपातिकमा निर्वाचित गीता चौधरीले आफ्नो मातृ भाषा (थारु भाषा) मा शपथ ग्रहणका लागि सूचना दिएका छन्। अन्य सदस्यहरूले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन्।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम सूची प्रदेश प्रमुख समक्ष बुझाएको २० दिनभित्र निर्वाचित सदस्यको शपथ र प्रदेशसभा बैठक आह्वान गर्नुपर्ने प्रावधान छ। पुस २ गते आयोगले प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यको सूची प्रदेश प्रमुख देवराज जोशीलाई बुझाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell