PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

वाग्मती प्रदेशसभा भवन अपांगमैत्री नहुँदा सांसदलाई बैठक आउनै सकस



निशा गुरुङ

वाग्मती प्रदेशसभा भवन अपांगमैत्री नहुँदा सांसदलाई बैठक आउनै सकस

हेटौंडा : वाग्मती प्रदेशसभाको भवन अपांगमैत्री नहुँदा अपांगता भएका सांसदलाई प्रदेशसभाको सदनमा उपस्थित हुन समस्या भएको छ। बिहीवार भएको शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रदेशसभामा समानुपातिक तर्फबाट सांसद बनेकी रामेछाप जिल्लाकी लक्ष्मी घिमिरेलाई निकै समस्या भएको थियो। 

ह्विलचियर प्रयोगकर्ता निर्वाचित भएकोले प्रदेशसभा कार्यस्थल मापदण्डसहित निर्माण गरी सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद सचिवालयसम्म आवतजावत गरी कार्यसम्पादन गर्ने वातावरण सिर्जना गर्न प्रदेशसभाको बैठकमा पहिलो आवाज उठ्ने बताएकी छन्।

प्रदेशसभा सञ्चालन हुने सदन पहिलो तल्लामा नै रहेकाले सभाकक्षसम्म पुग्न समस्या नभए पनि रोष्टममा जान तथा संसदीय दलको कार्यकक्षसम्म पुग्न कठिन हुने समस्या भएर उनले ह्विलचियर प्रयोगकर्तालाई प्रदेश सभामा सहज वातावरण सिर्जना गर्न प्रदेश सचिवालयलाई दबाव दिने बताइन्।

‘मेरो पहिलो आवाज नै प्रदेशसभा भवन अपांगमैत्री बन्नुपर्छ भन्ने हो। पहिलो बैठकमा यही कुरा उठाउनेछु,’ उनले भनिन्, ‘प्रदेश संरचना भइसकेपछि अपांगमैत्री बनाउनुपर्छ सबै सांसद अपांगता हुदैन भन्ने हुन्न। त्यसकारण सबै कुरालाई ध्यानमा राखेर संरचना बनाउनुपर्छ।’

मंसिर ४ को निर्वाचनबाट वाग्मती प्रदेशसभाको दोस्रो कार्यकालका लागि प्रत्यक्ष तर्फबाट ६४ र समानुपातिकबाट ४४ गरी १ सय १० सांसद निर्वाचित भइसकेका छन्। जसममध्ये १ जना अपांगता भएका सांसद निर्वाचित भएका छन्। अपांगता भएकै कारण उनलाई ह्विलचियरको सहारामा प्रदेशसभाको सदनमा उपस्थित हुनुपर्ने बाध्यता छ। तर, प्रदेशसभा सचिवालयका संरचना अपांगमैत्री नभएकै कारण अपांगता भएका सांसदको समस्यालाई कसरी हल गर्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ।

त्यसो त, अघिल्लो कार्यकालमा नउठेका सवाल प्रदेशसभाको दोस्रो कार्यकालमा उठेको भन्दै यो स्वागतयोग्य रहेको बताइएको छ। प्रदेशसभाको गेटदेखि सदन र संसदीय दलको कार्यालय, क्यान्टिन, शौचालयलगायतका स्थान अपांगमैत्री बनाउने बताउँदै नवनिर्वाचित सांसद घिमिरेलाई सहज वातावरण बनाउन आजैबाट पहल गरिने वाग्मती प्रदेशसभा सचिव कृष्णहरि खड्काले दाबी गरे।

तत्कालीन शिक्षा निर्देशनालयको साँघुरो भवनबाट सञ्चालन भइरहेको वाग्मती प्रदेशसभा भवनमा सभामुख, उपसभामुखको कार्यकक्ष, संसदीय दलको बैठक कोठा आदि अपांगमैत्री बनाउनतर्फ प्रदेश सरकारको ध्यान जान सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell