PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सुनको माग शून्यमा झरेपछि पुसभरी आयात बन्द : व्यवसायीले पनि भने चाहिँदैन, ५ महिनामा १० अर्ब बढीको आयात



सरला सुवेदी

सुनको माग शून्यमा झरेपछि पुसभरी आयात बन्द : व्यवसायीले पनि भने चाहिँदैन, ५ महिनामा १० अर्ब बढीको आयात

काठमाडौं : बिहे, व्रतबन्ध आदिका लागि सिजन नभएका कारण सुनको माग शून्यमा झरेपछि व्यवसायीले २० दिन आयात नगर्ने भएका छन्। व्यवसायीको आग्रहमा बैंकर्स संघले छुट्याएको कोटा अनुसार वाणिज्य बैंकहरुले सुन आयात गर्दै आएका छन्।

एकातिर अफ सिजन, अर्कोतिर तोलामै लाख रुपैयाँ नाघेपछि सुनको माग शून्य छ। चाँदीको मागमा पनि उच्च गिरावट छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले पुसभरी सुन आयात नगर्ने जनाएको छ। महासंघका महासचिव धर्मभक्त बज्राचार्यले सुनको मूल्य पनि प्रतितोला एक लाख रुपैयाँ नाघ्नुका साथै अफसिजनका कारण माग नभएकाले आयात नगर्ने निर्णयमा पुगेको जानकारी दिए।

यसअघि मूल्य सस्तो हुँदा व्यवसायीले अफसिजनमा पनि सुन किनेर मौज्दात राख्‍ने गरेका थिए। यसपाली सुन अत्यधिक महँगो हुँदा पनि व्यवसायीले मौज्दात राख्‍न पनि चाहेका छैनन्।

‘सुन महँगो भएपछि व्यवसायीले मौज्दात राख्‍न छोडेका छन्। उपभोक्ताले पनि मूल्य घट्दा सुन जोड्ने गरेका थिए’, उनले भने, ‘अहिले मूल्य बढेपछि उपभोक्ताले पनि खरिद गरेका छैनन्।’

व्यवसायीले सुन मगाउन छाडेपछि बैंकर्स संघले पनि आयातको माग गर्न छाडेको छ। बैंकहरुले पनि आयात रोकेका छन्।

अहिले पनि बैंकहरुमा सुनको मौज्दात छ। व्यवसायीले कोटा अनुसार लैजाने हो भने पनि २०/२५ दिनलाई सुन पुग्छ। त्यसैले बैंकहरुले सुनमा लगानी गरेर पैसा होल्ड गर्न चाहेका छैनन्। व्यवसायीले पनि सुनको आयात नगर्न बैंकर्स संघलाई जानकारी गराइसकेको बज्राचार्यले जानकारी दिए।

‘माघ लागेपछि बिहेको सिजन सुरु हुन्छ। त्यसपछि सुनको माग पनि हुन थाल्छ’, उनले भने, ‘बिहे तथा पूजाआजाको समय हुने भएकाले त्यतिबेला अझ बढी सुन चाहिन्छ। अहिले आयात कम गर्दा माघको लागि सुनको आपूर्ति सहज हुन्छ।’

अहिले बैंकसँग करिब ७५ केजी सुन मौज्दात छ। व्यवसायीले अहिले २/४ किलोभन्दा सुन उठाएका छैनन्। त्यसो हुँदा यो सुनले पुसभरी थाम्ने बैंकरहरुको भनाइ छ।

देशभर नै सुनको माग घटेको छ। ठूलो बजार भने काठमाडौं र पोखरा हो।

५ महिनामा १० अर्बभन्दा बढीको सुन आयात

चालु आर्थिक वर्षको मंसिरसम्म आउँदा पोहोरभन्दा सुनको आयात घटेको छ। भन्सार विभागका अनुसार, ५ महिनामा १० अर्ब  ५७ करोड रुपैयाँको सुन आयात भएको छ। जसमा १४ लाख ग्रामभन्दा बढी सुन आयात भएको हो। गत वर्ष  करिब १९ अर्ब रुपैयाँको २७ लाख ३७ हजार ग्राम सुन आयात भएको  थियो।

गत वर्ष चैतमा राष्ट्र बैंकले सुन आयात २० केजीबाट घटाएर १० केजी कायम  गरेको थियो। जसले गर्दा यो वर्ष कम परिमाणमा सुन आयात भएको देखिन्छ। गत फागुनस‍म्म नेपालमा दैनिक २० केजीका दरले सुन आयात हुँदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell