PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पेलेको 'सेलिब्रेसन ट्रेडमार्क' जसलाई बिर्सने छैनन् फ्यानले, कुन - कुन विषयमा विवादमा तानिएका थिए उनी?



पहिलोपोस्ट

पेलेको 'सेलिब्रेसन ट्रेडमार्क' जसलाई बिर्सने छैनन् फ्यानले, कुन - कुन विषयमा विवादमा तानिएका थिए उनी?
फोटो : Rex/Getty Images

ब्राजिलमा 'द किङ' भनेर चिनिने फुटबल लेजेन्ड पेले विश्वकपको ह्याट्रिक कीर्तिमान बनाएका एकमात्र फुटबलर हुन्। अघिल्लो शताब्दीका फुटबल क्षेत्रका धुरन्धर व्यक्तित्व पेलेको बिहीवार ८२ वर्षको उमेरमा निधन भयो। गत महिना उनलाई अस्पतालमा भर्ना गरिएको थियो। क्यान्सरलगायतका रोगहरुसँग लामो समय जुधेका उनको हाल उपचार गरिएको मेडिकल सेन्टरले क्यान्सरका कारण धेरै अंगहरुले काम गर्न छाडेपछि मृत्यु भएको जनाएको छ।

'पेलेले सबै कुरा परिवर्तन गर्नुभयो। फुटबललाई कला र मनोरञ्जनमा परिवर्तन गराउनुभयो,' ब्राजिलियन स्ट्राइकर नेइमारले लेखेका छन्, 'फुटबल र ब्राजिलले 'राजा'लाई धन्यवाद दिएका छन्! उहाँ जानुभयो, तर उहाँको जादू रहनेछ। पेले अनन्त छन्!'

पेलेको अन्त्येष्टिको योजना सोमबार र मंगलबारको लागि बनाइएको बताइएको छ।

फुटबलको महान् खेलाडीमध्ये एक मानिने पेलेले लगभग दुई दशक ब्राजिलको क्लब सान्तोस र ब्राजिल राष्ट्रिय टोलीमा विताए। उनलाई सबैभन्दा उत्कृष्ट स्कोररको रूपमा प्रशंसकहरूलाई मन्त्रमुग्ध बनाउने र विपक्षीहरूलाई अचम्मित पार्ने कलाले धेरै चिनिन्छ। खासगरी उनको बल मिलाउने, छिटो अनि लचक खेल्ने तरिकाले फुटबल खेल्ने शैलीमै क्रान्ति ल्याएको मानिन्छ।

उनले ब्राजिललाई फुटबलको उचाइमा पुर्‍याए। साओ पाउलो राज्यको सडकमा अखबार वा पुराना कपडाले भरिएको मोजालाई लात हान्दै उनको फुटबल यात्रा सुरु भएको थियो। फुटबल खेलाडीका रुपमा सफल बनेका उनी खेल जीवनपछि पनि खेलकुदको लागि विश्वव्यापी ग्लोबल एम्बासडर बने।

फुटबलका महान खेलाडीहरूको बारेमा चर्चा चल्दा डिएगो म्याराडोना, लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको नाममात्र पेलेसँगै दाँजिन्छ। 

पेलेको गोलसंख्या भने विवादित नै रहेको छ। उनको लिगमा गोल ६५० हाराहारीमा रहेको र ठूला साना प्रतियोगिताका लागि १२८१ गोल भएको दाबी गरेको पाइन्छ।

'द किङ' भनेर चिनिने पेले पहिलोपटक सन् १९५८ को स्वीडेन विश्वकपमा १७ वर्षको उमेरमा ब्राजिलबाट मैदान उत्रिएका थिए। प्रतियोगिताकै युवा खेलाडी रहेका उनले फाइनल खेलमा आयोजक स्वीडेनलाई ब्राजिलले ५-२ गोलअन्तरले हराउँदा २ गोल गरेका थिए।

१९६२ मा ब्राजिलले विश्वकप उपाधि जित्दा चोटले उनलाई दुई खेलमात्र खेल्न पाए। तर, मेक्सिकोमा १९७० को विश्वकप जित्दा उनी चर्चाको शिखरमा थिए। उनले फाइनलमा गोल गरे र कार्लोस अल्बर्टोको अचम्मको पासमा अन्तिम गोल गर्दा ब्राजिलले इटालीलाई हराउँदै च्याम्पियन बनेको थियो।

ब्राजिलको १० नम्बर जर्सीमा देखिने उनको सेलिब्रेसन ट्रेडमार्क अविस्मरणीय रहने छ नै। पेलेको ख्याति यस्तो थियो कि १९६७ मा नाइजेरियामा गृहयुद्धका गुटहरू छोटो युद्धविराममा सहमत भए ताकि पेलेले उनीहरुको देशमा एक खेल खेल्न सकुन्। उनलाई सन् १९९७ मा बेलायतकी महारानी एलिजाबेथ द्वितीयले सम्मानसमेत गरेकी थिइन्।

फुटबल खेललाई उत्तर अमेरिकामा लोकप्रिय बनाउने उद्देश्यसहित वासिङटन गएका बेला अमेरिकी राष्ट्रपतिले नै पहिलो हात उठाएका थिए। 'मेरो नाम रोनाल्ड रेगन हो, म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति हुँ। तर तपाईंले आफ्नो परिचय दिन आवश्यक छैन किनभने सबैलाई थाहा छ, पेले को हो?' उनले भनेका थिए।

पेले ब्राजिलका पहिलो आधुनिक अश्वेत राष्ट्रिय नायक थिए तर नस्लवादको बारेमा बिरलै बोलेको भन्दै आलोचना पनि उत्तिकै ब्यहोरेका थिए।

विपक्षी फ्यानहरूले पेलेलाई घर र विश्वभर नश्लीय गाली गरेर हैरान बनाएका थिए।

पेलेका जीवनी लेख्नेहरु मध्ये एक एन्जेलिका बास्थीले भनिन्, 'उनी ब्राजिलमा अश्वेत मानिसहरूको गौरवको लागि महत्वपूर्ण छन्, तर झण्डावाहक बन्न चाहँदैथिए।'

फुटबलपछि पेलेको जीवनले धेरै रूप लियो। उनी एक राजनीतिज्ञ थिए। ब्राजिलको खेलकुद मन्त्री बने। एक धनी व्यापारीको पहिचान पाए। साथै युनेस्को र संयुक्त राष्ट्र संघका लागि एम्बेस्डर बने। उनले केही फिल्महरुमा पनि भूमिका निभाए भने गीतहरु लेखे।

उनको स्वास्थ्य बिग्रँदै गएपछि सार्वजनिक कार्यक्रममा उनको यात्रा र उपस्थिति कम हुन थाल्यो। उनी आफ्नो अन्तिम वर्षहरूमा प्रायः व्हीलचेयरमा देखिएका थिए र ब्राजिलको १९७० विश्व कप टोलीको प्रतिनिधित्व गर्ने उनको मूर्ति अनावरण गर्ने समारोहमा समेत उपस्थित भएनन्। पेलेले आफ्नो ८० औँ जन्मदिन परिवारका केही सदस्यहरूसँग समुद्र तटको घरमा एक्लै बिताएका थिए।

अक्टोबर २३, १९४० मा मिनास गेराइस राज्यको भित्री भागमा रहेको ट्रेस कोराकोजको सानो सहरमा जन्मिएका एडसन अरेन्टेस डो नासिमेन्टो उर्फ पेले सामान्य फुटबल र जुत्ता किन्ने सपना बुन्दै हुर्किएका थिए।

पेले ११ वर्षको हुँदा उनको प्रतिभाले सबैको ध्यान खिच्यो र स्थानीय व्यावसायिक खेलाडीले उनलाई सान्तोसको युवा टोलीमा ल्याए। उनलाई सिनियर टोलीमा पर्न धेरै समय लागेन। त्यसपछि त हो उनले एकपछि अर्का सफलता हात पार्दै गए। सबैमा, पेलेले ब्राजिलबाट ११४ खेल खेले, आधिकारिक खेलहरूमा ७७ सहित कीर्तिमान ९५ गोल गरे।

क्लब करियरमा सन्तोससँग करियरको उत्तरार्धमा नजाउन्जेल तीन दशकभन्दा बढी लामो समय रहे। उनलाई युरोपेली क्लबहरूले उनलाई हस्ताक्षर गर्न खोजे, तर ब्राजिल सरकारले उसलाई राष्ट्रिय सम्पति घोषणा गर्दै बाहिर जानबाट रोक्न हस्तक्षेप गर्‍यो।

तर, १९७५ मा उनी उत्तर अमेरिकी फुटबल लिगको न्यूयोर्क कोसमोसमा सामेल भए। ३४ वर्षको भएतापनि पेलेले उत्तर अमेरिकामा फुटबललाई उच्च स्थान दिएका थिए। उनले कोसमोसलाई १९७७ लिगको उपाधि दिलाए र तीन सिजनहरूमा ६४ गोल गरेका थिए।

पेलेले अक्टोबर १, १९७७ मा, न्युजर्सीमा लगभग ७७ हजार दर्शकको भीड अगाडि कोसमोस र सान्तोस बीचको प्रदर्शनीमा आफ्नो करियरको अन्त्य गरे। उक्क खेलमा उनले दुबै पहिलो हाफ र दोस्रो हाफमा फरकफरक टोलीबाट खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell