
काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टार्सले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा अलस्टार्सले काठमाडौँलाई ३५ रनले हराएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५० रन बनाएको थियो। अलस्टारका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाउँदा लाहिरु मिलान्थाले २५, कुशल भुर्तेलले १९ तथा अनिल साहले १२ रन बनाए। त्यस्तै श्याडली भान स्कल्कयकले अविजित २१ रन बनाए।
बलिङतर्फ काठमाडौँका अजमतुल्लाह ओमरजाइले सर्वाधिक २ विकेट लिँदा अविनास बोहोरा, अनिल खरेल, बसीर अहमद, सुनम गौतम र एलेक्स ब्लेकले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँका शीर्ष क्रमका तीन ब्याट्सम्यान वीरनदीप सिंह, ज्ञानेन्द्र मल्ल र लोकेश बम रन नजोड्दै बाहिरिएकोमा अजमतुल्ला ओमरजाइले सर्वाधिक ३८ रन बनाउँदा कमलसिंह ऐरीले अविजित १९ रन बनाए। त्यस्तै सुनम श्रेष्ठले १८ र एलेक्स ब्लेकले ११ रन बनाए। बलिङतर्फ अलस्टार्सका हरम्रीत सिंहले ३ विकेट लिँदा किशोर महतो, शाडली, तिलक भण्डारी र ह्यारी टेक्टोरले समान १ विकेट लिए।
योसँगै अलस्टार्स १० अंकका साथ शीर्षस्थानमा छ भने काठमाडौँ ४ अंक जोडेर तेस्रो स्थानमा छ।